काठमाडौं, असार २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड र विश्व बैंकका नेपालका कन्ट्री म्यानेजर फारिस हदाद–जर्वोस सहितको प्रतिनिधिबीच भेटवार्ता भएको छ ।
आज बिहान अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको आर्थिक समृद्धिमा विश्व बैंकले खेल्ने भूमिकाका बिषयमा छलफल भएको थियो ।
अध्यक्ष प्रचण्डले नेपालको विकासका प्राथमिकतामा ठूला जलविद्युत परियोजनाहरु र पर्यटनका साथै मुख्यरुपमा कृषिमा आधारित उद्योग नै रहेको बताउनुभयो ।
नेपालको इतिहासमा ७० वर्षपछि राजनीतिक स्थिरता कायम भएको उल्लेख गर्दै उहाँले आर्थिक विकासका लागि सुवर्ण अवसर भएको बताउनुभयो । अध्यक्षले नेपालको समृद्धिको अभियानमा आफूहरुले विश्व बैंकबाट सल्लाह, सहयोग र सहकार्य चाहेको बताउनुभयो ।
उहाँले स्थानीय, प्रादेशीक र संघीय गरी तीनवटा सरकार रहेकोले प्राथमिकता निर्धारण गरेर जनताले प्रत्यक्ष अनुभूत गर्ने विकास योजना बनाउने बताउनु भयो ।
भेटका अवसरमा कन्ट्री म्यानेजर जर्वोसले नेपालमा राजनीतिक स्थिरता कायम भएको भन्दै प्रशन्नता व्यक्त गर्नुभयो । उहाँले आफूहरुसँग विभिन्न देशका आर्थिक विकासका अनुभव रहेको बताउनुहुँदै ती अनुभव नेपालको विकासमा उपयोगी हुने बताउनुभयो ।
नेपालको विकासमा उच्च प्राथमिकतामा रहेको कृषिमा आधारित उद्योगको पूर्वाधार निर्माणमा सहयोग गर्ने उहाँको प्रतिवद्धता थियो ।