काठमाडौं, २६ असार ।
पार्टी विधान अन्तर्गतको नियमावली बनाउन गठित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको तीन सदस्यीय कार्यदलले आफ्नो सुझावसहितको प्रतिवेदन सचिवालय बैठकमा पेश गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको नेकपाको सचिवालय बैठकमा कार्यदलले नियमावलीको लागि मस्यौदा पेश गरेको हो ।
मस्यौदाबारे सचिवालय बैंठकमा छलफल भए पनि अन्तिम टुंगो भने लाग्न नसकेको हो । बैंठकपछि प्रवक्ता नारयणकाजी श्रेष्ठले कार्यदलले पेश गरेको नियमावली मस्यौदाको अध्ययनपछि चाँडै अन्तिम रुप दिने बताउनु भएको छ ।
बैठकमा समसामयिक राजनीतिक र सांगठनिक विषयमा पनि छलफल भएको नेताहरुले बताएका छन् । कार्यदलमा बामदेव गौतम, विष्णु पौडेल र रामबहादुर थापा बादल रहनु भएको छ ।
यसैबीच नेकपा केन्द्रीय सचिवालयको बैठक आज साँझ पुन बस्ने भएको छ । विहानदेखि बसेको बैठक कुनै निष्कर्षमा पुग्न नसकेपछि साँझका लागि फेरि बैठक डाकिएको हो ।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रबक्ता श्रेष्ठले संगठनात्मक संरचनाका बारेमा छलफल भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, छलफल जारी छ, बेलुका ५ बजे बैठक पुनः बस्नेछ ।’
श्रेष्ठले आज साँझको बैठकबाट नभए भोलिसम्म सम्ममा संगठनात्मक बिषय लगायतका बिषयमा टुंगो लगाइने दावी पनि गर्नुभयो ।