२३ असार, रामेछाप ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफु नेतृत्वको सरकारले गरेका राजनीतिक नियुक्ति खारेज गरेर सरकारले मुठभेड निम्त्याउन खोजेको आरोप लगाउनु भएको छ ।
प्रेस युनियन, रामेछापले जिल्ला सदरमुकाम मन्थलीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सभापति देउवाले प्रजातान्त्रिक मान्यतालाई कुल्चिएर चालिएको उक्त कदम निरंकुशता उन्मुख भएको बताउनु भयो ।
देउवाले आफ्नो सरकारले गरेका नियुक्ति खारेज गर्ने ओली सरकारको कदम कुनै हातलमा स्वीकार नगर्ने प्रष्ट पार्नुभयो ।
सरकार हरेक क्षेत्रलाई नियन्त्रण र कब्जा गर्ने हिसावले उत्रिएको भन्दै सभापति देउवाले यसको कांग्रेसले कडा प्रतिवाद गर्ने पनि प्रष्ठ पार्नुभयो ।
भारत र चीनसँग प्रधानमन्त्री केपी शर्मा ओली लम्पसार परेको पनि उहाँको आरोप छ । चीनबाट रेल ल्याउने विषय ‘सपना’ मात्रै भएको भन्दै देउवाले यो पूरा नहुने बताउनु भयो ।
देउवाले अनशनरत डा. गोविन्द केसीको सत्याग्रहमा सरकारले अवरोध पुर्याएको घटनाप्रति पनि आपत्ति जनाउनु भयो । शान्तिपूर्ण विरोध प्रदर्शन गर्न समेत रोक लगाइनुले सरकार निरंकुशताको बाटोमा अग्रसर भएको पुष्टि गरेको उहाँको भनाइ छ ।
देउवाले नेपाली कांग्रेसभित्र अब कुनै गुट नहुने दाबी गर्दै अब कांग्रेस एक ढिक्का भएर अघि बढ्ने बताउनु भयो ।