साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाको शेयर वितरण प्रक्रिया स्थगन

साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाको शेयर वितरण प्रक्रिया स्थगन

  • सोमवार, असार १८, २०७५
  • मिर्मिरे अनलाइन

  • 15K
    SHARES

– ज्ञानेन्द्र न्यौपाने /रसुवा, १८ असार

निर्माणाधीन साञ्जेन र रसुवागढी जलविद्युत् आयोजनाबाट रसुवावासीले पाउने १० प्रतिशत शेयर वितरणको प्रक्रिया स्थगन भएको छ ।

रसुवाका सबै जनप्रतिनिधि र सरोकारवाला निकायबीच आज भएको छलफलले रसुवावासीसँग रकम अभाव भएका कारण विद्युत् उत्पादन नभएसम्मका लागि जिल्लावासीले पाउने शेयरको वितरण प्रक्रिया स्थगन गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले जानकारी दिनुभयो ।

रसुवावासीका लागि १० प्रतिशत शेयर दिनुपर्ने कानूनी व्यवस्था भएबमोजिम रसुवागढीले रु ६८ करोड ४२ लाख तथा साञ्जेन माथिल्लो र तल्लो जलविद्युत् आयोजनाले रु ३६ करोड ५० लाखबराबरको शेयर पाउने तय भएको थियो ।

भूकम्पपछिको आवास पुनःनिर्माणका कारण नागरिकको आर्थिक अवस्था कमजोर भएको निष्कर्ष निकाल्दै विद्युत् उत्पादन नहुन्जेलका लागि शेयर वितरण प्रक्रिया स्थगन गर्न जनप्रतिनिधिले निर्णय लिएको जिल्ला समन्वय समिति रसुवाले जनाएको छ ।

भूकम्पपछि आवास पुनःनिर्माण भइरहेको र स्थानीयवासीलाई घर बनाउन रकम अपुग भइरहेको अवस्थामा गाउँमा चर्को ब्याजको रकमबाट विद्युत् उत्पादन नहुँदै शेयर खरिद गर्न बाध्य बनाउँदा जिल्लावासीको हित नहुने निष्कर्ष निकाल्दै सहजीकरणका लागि कानून संशोधन गर्न अर्थमन्त्रालयमार्फत धितोपत्र बोर्डमा आग्रह गर्ने निर्णय समितिले गरेको छ । विद्युत् उत्पादन हुन २० महिनाभन्दा बढी समय लाग्ने आयोजनाले जनाएको छ ।

सर्वसाधारण र अन्य क्षेत्रका लागि छुट्याइएको शेयर निष्काशन प्रक्रिया भने अगाडि बढाउन जनप्रतिनिधिले आयोजनासमक्ष आग्रह गरेका छन् । आयोजनाको वस्तुस्थितिबारे रसुवागढी जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक माधव कोइराला र साञ्जेन जलविद्युत् कम्पनीका कार्यकारी प्रमुख किरण श्रेष्ठले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

भूकम्पपछिको आवास निर्माण गर्न सरकारले दिएको अनुदान रकमले धौधौ परिरहेको अवस्थामा विद्युत् उत्पादन भएपछि मात्र शेयर बाँडफाँड गर्ने प्रावधानका लागि जनप्रतिनिधिले राखेका धारणा नै सही भएको नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो । रु तेह्र अर्ब ६४ करोड ४० लाखको लागतमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढीले ६२ प्रतिशत र रु सात अर्ब २४ करोड ३२ लाखको लागतअन्तर्गत दुई भागमा निर्माणाधीन ५७ दशमलव ३ मेगावाटको साञ्जेनले ७० प्रतिशत निर्माण पूरा भएको जनाएका छन् ।

यहाँ सञ्चालित विद्युत् आयोजनामा राजनीतिक प्रभाव परेको र कर्मचारी भर्ना छनोट अपारदर्शी भएको प्रतिनिधिसभा सदस्य मोहन आचार्यले आरोप लगाउनुभएको छ । कर्मचारी भर्नाको स्पष्ट मापदण्ड बनाई पारदर्शी र निष्पक्ष तवरले अगाडि बढ्न उहाँले आग्रह गर्नुभएको छ ।

छलफल कार्यक्रममा प्रतिनिधिसभा सदस्य आचार्य, प्रदेशसभा सदस्यद्वय प्रभात लामा र प्रेम तामाङ, जिल्लाका पाँचवटै गाउँपालिका प्रमुख र उपप्रमुख, वडाध्यक्षलगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी