काठमाण्डौ, १८ असार ।
सांसदले बाढी पहिलो तथा वर्षाले र्पुयाउन सक्ने क्षति, उदार तथा राहतका बिषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
नयाँ बानेश्वर स्थित संसद भवनमा जारी प्रतिनिधिसभाको बैठकमा बोल्ने सांसदहरुले बर्षा सुरु भएसँगै पुयाउन सक्ने क्षति र सडक सञ्जाल लगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
आजको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संसोधन) विधेयक २०७५ टेबुल हुँदैछ ।
राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहित सो विधेयक टेवुल हुने कार्यसुची छ । बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (पहिलो संसोधन) विधेयक राष्ट्रिय सभाबाट यसअघि नै पारित भइसकेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गर्न दलहरुबीच सहमति नभएपछि हिजो प्रतिनिधि सभाको बैठक नै स्थगित भएको थियो ।
गत बैशाख १३ गते जारी भएको अध्यादेशको प्रतिस्थापन विधेयक पर्सिसम्ममा संसदबाट पारित भई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणिकरण गर्नुपर्नेछ ।
फाष्ट ट्रयाकबाट विधेयक अघि नबढाए पर्सिसम्ममा पारित नहुने भएपछि सरकारले अब नयाँ विधेयक अगाडि बढाउनु पर्ने देखिएको छ ।
यसअघि आजबाट बजेट आश्रित विधेयकमाथि पुनः छलफल सुरु हुने भनिएको थियो । तर आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत बाईसौं संशोधन विधेयकमाथिको छलफल पनि थन्किएको छ ।