नेतृत्व र भागवण्डामै अड्कियो राप्रपा एकता, कमल थापालाई नेतृत्व छाड्न दबाब !

नेतृत्व र भागवण्डामै अड्कियो राप्रपा एकता, कमल थापालाई नेतृत्व छाड्न दबाब !

  • शनिबार, असार १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

काठमाडौं, असार १६ ।

राप्रपा र राप्रपा प्रजातान्त्रिक बीच पार्टी एकता लागि सुरु भएको वार्ता नेतृत्वमा आएर अड्किएको छ ।

पार्टीको वैचारिक र सैद्धान्तिक विषयमा एक ठाउँमै रहे पनि शीर्ष नेताहरूबीचको व्यक्तिगत टकराव, नेतृत्व गर्ने होडबाजीका कारण पटक पटक विभाजित हुँदै आएका राप्रपाधारका दलबीच अहिले पनि नेतृत्वकै विषयमा कुरा नमिलेको वार्ता समितिमा सहभागी राप्रपा प्रजातान्त्रिकका एक नेताले बताए ।

उनले भने, ‘हामीबीच पार्टी एकता हुनुपर्छ भन्नेमा कुनै विवाद छैन तर नेतृत्व चयनको आधार कस्तो हुने भन्नेमा कुरा मिल्न सकेको छैन ।’ अघिल्लो हप्ताको मंगलबार दुई राप्रपाद्वारा गठित वार्ता समितिको पहिलो बैठक बसेपछि दोस्रो बैठक बस्न सकेको छैन ।

राप्रपा प्रजातान्त्रिकका वरिष्ठ उपाध्यक्ष एवं वार्ता समितिका संयोजक दीपक बोहराको पहलमा पहिलो चरणको वार्ता भएको थियो । एक साताभित्रै दोस्रो चरणको वार्ता गर्ने भनिए पनि वार्ता अनिश्चित बनेको छ ।

राप्रपा प्रजातान्त्रिकका महामन्त्री एवं वार्ता समिति सदस्य सुनीलबहादुर थापाले छिट्टै पार्टी एकताको आधार तय गरिने दाबी गरे । उनले भने, ‘हतारमा निर्णय गरेर हुँदैन । हामीबीच सकारात्मक छलफल भइरहेको छ । यस बीचमा विश्वकप, विभिन्न धार्मिक कार्यक्रमले गर्दा वार्ता समितिको बैठक बस्न नसकेको हो ।’ उनले पहिलो चरणको वार्ता आफ्नो पार्टीको सक्रियतामा बसेको उल्लेख गर्दै दोस्रो चरणको वार्ताका लागि भने राप्रपाका नेताले समय तोक्ने जनाए ।

राप्रपाका प्रवक्ता सुशील श्रेष्ठले नेताबीच व्यक्तिगत रूपमा अनौपचारिक छलफल भइरहेको बताए । उनले भने, ‘नेताबीच अनौपचारिक छलफल त जारी छ तर औपचारिक रूपमा वार्तामा बस्न समय लाग्न सक्छ ।

एकताका लागि हामीले पर्याप्त छलफल गर्न आवश्यक छ ।’ राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादी गरी तीन धारमा राप्रपा विभाजन भए पनि अहिले भने राप्रपा र राप्रपा प्रजातान्त्रिकले राप्रपा धारसहित विचार मिल्ने अन्य दल र व्यक्तिलाई पनि एकतामा समेट्न भन्दै वार्ता समिति गठन गरेका हुन् । वैचारिक र सैद्धान्तिक रूपमा दुई दलबीच मतभिन्नता नरहे पनि एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमै वार्ता समितिमा कुरा मिल्न नसकेको हो ।

एकता महाधिवेशनबाट पारित पार्टीको सिद्धान्तलाई नै स्वीकार गरेर जान राप्रपा प्रजातान्त्रिक तयार रहे पनि कमल थापाको नेतृत्वमा पार्टी एकता गर्न नसकिने उसको अडान छ ।

‘हिजो थापाकै व्यवहार र कार्यशैलीका कारण पार्टी विभाजन भएको हो, अब फेरि उनकै नेतृत्वलाई त कसरी स्वीकार गर्न सकिन्छ र रु ’ राप्रपा प्रजातान्त्रिकका एक नेताले भने, ‘कि उहाँ नेतृत्व छाड्न तयार हुनुपर्‍यो र पशुपति शम्शेर राणालाई अध्यक्ष बनाएर एकतामा जानुपर्‍यो ।’ उसो त राप्रपा अध्यक्ष कमल थापाले पार्टी एकताका लागि आफू अध्यक्ष छाड्न तयार रहेको यसअघि नै सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् । राप्रपाका प्रवक्ता राजेन्द्र गुरुङले एकीकृत पार्टीको नेतृत्व कस्तो हुने भन्नेमा पनि छलफल भइरहेको जनाए ।

अन्नपूर्ण पोस्टबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ