११ असार,काठमाडौं । ‘कामचोर’ ठेकेदारको सूचीमा परेका शारदाप्रसाद अधिकारीलाई कारवाही गर्नुको साटो उल्टै समय थप गरिएको छ ।
पहुँचको आधारमा सबै काम लिने र समयमै सम्पन्न नगरेर राज्यलाई घाटा पुर्याइरहेका अधिकारीलाई एक वर्ष थप गरिएको बताइएको छ । गृहमन्त्री रामबहादुर थापाले समय सीमाभित्र काम सम्पन्न नगर्ने ठेकेदारलाई कारवाही गर्ने भन्दै देशभरको सूची मागिरहेको बेला कलंकी–नागढुंगा खण्डको म्याद थपिएको हो । यो जिम्मा अधिकारीको शैलुङ कन्सट्रक्सनले ठेक्का लिएको छ ।
कलंकीदेखि ३ किलोमिटर अघिसम्मको सडक शर्मा–शैलुङ–कान्छाराम जेभीले जिम्मा पाएको छ । २०७४ साल असोज मसान्तसम्म यो खण्डको निर्माण सकिनुपथ्र्यो । त्यसपछिको तीन किलोमिटर सडक लुम्बिनी–शैलुङ–साप जेभीको जिम्मामा छ । नागढुंगातर्फको ३.१० किलोमिटर सडक शर्मा–शैलुङ–कान्छाराम जेभीले निर्माण गर्दैछ ।
त्यसैगरी चाबहिल–साँखु खण्डको पनि म्याद थपिएको छ ।
काम समय सीमामा सम्पन्न नगरेको, सर्वसाधारणलाई धुलो खुवाएको भन्दै कारवाहीको माग भइरहेको बेला अधिकारीसहितका पहुँचवाला ठेकेदारले थप एक वर्ष समय पाएका छन् । यो क्षेत्रका साना ठेकेदारमाथि कारवाही भएपनि ठूलालाई कारवाही नहुने पक्का भएको चर्चा सुरु भएको छ ।
ठेकेदार अधिकारीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुप्पकमल दाहाल र छोरीलाई घर दिएर प्रभावमा परेको अारोप लाग्दै अाएको छ ।