पोखरा, ४ असार । आर्थिक बर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानका बिषयमा आज पनि प्रदेश नं ४ को प्रदेशसभा बैठकमा छलफल भएको छ ।
असार १ गते आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले प्रस्तुत गर्नुभएको वजेटमाथि आइतबारदेखि सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको हो ।
आजको छलफलमा भाग लिँदै सदस्यहरूले बजेटले संघीयताको संस्थागत विकाससँगै धेरै विषय र क्षेत्रलाई समेट्ने प्रयास गरेकोले कार्यान्वयन पक्षलाई प्रभावकारी बताउनु पर्नेमा जोड दिएका छन् ।
प्रदेश नं ४ लाई नमूना प्रदेशका रुपमा विकास गर्न बजेट आधारशीला भएको भन्दै सदस्यले बजेटले समेट्न नसकेका विषयलाई आगामी दिनमा समेट्दै अघि बढ्न सरकारलाई सुझाव दिए ।
प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले बजेटले गाउँ र नगरपालिकालाई जोड्नका लागि सडकमा प्राथमिकता दिएको बताउनु भयो । उहाँले आर्थिक वर्षको शुरुमै गाउँगाउँमा विकास निर्माणले गति लिएसँगै बजेटको प्रभावकारिता देखिने उल्लेख गर्नुभयो ।
अर्का सदस्य धनमाया लामा पोख्रेलले बजेटले सबै क्षेत्रलाई समेटेको भए पनि प्रदेश नं ४ को महत्वपूर्ण उद्योगका रुपमा रहेको गोरखकाली रबर उद्योग सञ्चालनबारे ध्यान नपुगेको धारणा राख्नुभयो ।
प्रदेशसभा सदस्य ललितकला गुरुङले ग्रामीण क्षेत्रमा रित्तिएको बस्तीलाई भरिभराउ नबनाएसम्म बाझिएको जमिनलाई उत्पादनमूलक बनाउन कठिन हुने धारणा राख्नुभयो ।
आजको छलफलमा सत्ता पक्ष र विपक्षका गरी कूल २८ जना प्रदेशसभा सदस्यले भाग लिनुभएको थियो । प्रदेशसभाको अर्को बैठक मंगलबार बिहान ११ बजे बस्नेछ ।