पोखरा, जेठ २१ । प्रदेश नम्बर–४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारले उत्पादन र उत्पादकत्व वृद्धिका साथै दीगो विकासमा आधारित योजनालाई लक्षित गरी बजेट ल्याउन लागेको बताउनु भएको छ ।
प्रदेश नम्बर–४ भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आज पोखरामा आयोजित नविकरणीय ऊर्जासम्बन्धी अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उहाँले प्रदेश सरकारको आगामी बजेट लोकप्रियताका लागि नभइ उत्पादनमुखी हुने बताउनु भयो ।
पर्यटन, ऊर्जा, कृषिको आधुनिकीकरणजस्ता कार्यक्रमलाई प्राथमिकताका आधारमा प्रदेश सरकारले अघि बढाउने उहाँको भनाई छ ।
ऊर्जाको विकासलाई सरकारले महत्वका साथ अघि बढाउने धारणा राख्दै उहाँले प्रदेश भित्रका उद्योगलाई २४ घन्टा विद्युत् उपलब्ध गराउने लक्ष्य रहेको पनि सुनाउनु भयो ।
भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले प्रदेश नम्बर–४ लाई दुई वर्ष्भित्रमा उज्यालो प्रदेश बनाउने सरकारको तयारी रहेको बताउँदै ऊर्जा उत्पादन गरी अरुलाई बिक्री गर्नसक्ने क्षमता बढाउने गरी योजना निर्माण गर्ने उल्लेख गर्नुभयो ।
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका वरिष्ठ ऊर्जा अधिकृत प्रकाश अर्यालले नगरको फोहरलाई ऊर्जाकारुपमा परिणत गर्नसकिने र यसले आर्थिक तथा सामाजिक क्षेत्रमा महत्वपूर्ण प्रभाव राख्ने बताउनु भयो ।
नेपाल बायोग्यास प्रवद्र्धन संघ प्रदेश नम्बर–४ का अध्यक्ष सोमनाथ बाँस्तोलाले वातावरणीय प्रदूषणलाई कम गर्दै फोहरबाट मोहोरमा परिणत गर्नसकिने हुँदा बायोग्यासको विकास आवश्यक रहेको धारणा राख्नुभयो ।
उहाँले प्रदेशका विभिन्न ठाउँमा बायोग्यास प्लान्टको विकासलाई अघि बढाउनसकिने र त्यसका लागि बायोग्यास प्रवद्र्धन संघ सरोकारवाला निकायसँग सहकार्य गर्न तयार रहेको बताउनु भयो ।
- तस्वीर: हरि बाँस्तोला