२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले निमु्खा सांसदको समस्या नबुझेको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रत्यक्ष चुनाव लड्न सु्झाव दिनुभएको छ ।
संघिय संसदमा आज भएको बजेट छलफलमा भाग लिँदै उहाँले अर्थमन्त्रीले निमुखा सांसदहरुको पीडा नबुझेको भन्दै एक पटक प्रत्यक्ष चुनाव लड्न सल्लाह दिनुभएको हो ।
‘सांसद पनि कस्ता भोकानांगा भने भूकम्पको ५ सय रुपैयाँको उ पनि लिएर जाने, सांसद पनि कस्ता भोका नांगा भने कुनै सुविधा पनि नछोड्ने । एक दुई जना होलान् सुविधा नलिने, सारा सुविधा चाहिने । तीनलाई तपाईले ठीक जवाफ दिनुभयो, सांसदहरुले यही जवाफ खोजेका थिए’ गिरिले भन्नुभयो, ‘एक पटक विनम्रतापूर्वक भन्न चाहन्छु् अर्थमन्त्रीजीले प्रत्यक्ष चुनाव चाहिँ लड्नैपर्छ । अनि सांसदको कुरा बुझ्नुहुन्छ ।’
नेता गिरिले सांसद जत्तिको अपमानित र निरीह नेपालमा अरु कोही नभएकाले भन्दै उहाँले प्रश्न गर्नुभयो, ‘सांसदहरुको के ट्रयापमा पर्नुपर्छ ? सांसदहरुको जति अपमान यो मुलुकमा अरु कसैको छ ?’
अर्थमन्त्री सांसदको ट्रयापमा परेको नभई आफ्नो आर्थिक अनुशासन र ठूला नेताको पपुलिस्ट कार्यक्रमको ट्रयापमा परेको उहाँको दाबी छ । नेताहरुले विजुलीबाट रेल चलाउने, चन्द्रमा र्पुयाउने सपना देखाए पनि हिसाब किताब गर्दा र आफ्नो विवेक प्रयोग गर्दा त्यो सम्भव नदेखिएपछि अर्थमन्त्री समस्यामा परेको उहाँको भनाई छ ।
अर्थमन्त्रीले बजेट ल्याउँदा केही ठूला बलिया बांगा नेताबाहेक कसैलाई नटेरेको पनि गिरिले बताउनु भयो ।