काठमाडौ २० जेठ ।
आगामी आर्थिक वर्ष २०७५/७६ का लागि सरकारले ल्याएको बजेटमाथि प्रतिनिधि सभामा जारी छलफल आज सकिदैछ ।
प्रतिनिधिसभामा छलफलमा भाग लिन नाम टिपाएका बाँकी सांसदहरुले आजपनि धारणा राख्ने कार्यसुची रहेको संघिय संसदको सचिवालयले जनाएको छ ।
सांसदहरुले धारणा राखेको सकेपछि आजै अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा जवाफ दिने तयारी छ । राष्ट्रियसभामा भने बजेटमाथिको छलफल गत शुक्रबार नै सकिसकेको छ ।
अर्थमन्त्रीले छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएपछि संसद्मा मन्त्रालयगत रुपमा बजेटका शीर्षकमाथि छलफल सुरु हुनेछ । यद्यपी संसद् सचिवालयले मन्त्रालयगत विवरण समेटिएको रातो किताब भाग दुई भने पाइसकेको छैन ।
उक्त विवरण प्राप्त भएपछि मन्त्रालयगत रूपमा बजेटमाथि छलफल हुने र विभागीय मन्त्रीले जवाफ दिने कार्यसुची रहेको छ । मन्त्रीको जवाफपछि बजेट पारितको प्रक्रिया सुरु हुनेछ ।
उक्त अवधिमा सांसद्लाई बजेटमाथि खर्च कटौती तथा अन्य संशोधन दर्ताका लागि समय दिइनेछ । बजेटका चार विधेयकमध्ये विनियोजन विधेयक असार मसान्तसम्म पारित भइसक्नु पर्ने संवैधानिक प्रावधान छ ।