१९ जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ ।
नेपाल आयल निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, तथा मट्टीतेलको मूल्य ३÷३ रुपैयाँ वृद्धि गरेकोे हो ।
अब पेट्रोल लिटरमा ११३ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ । भारतीय आयल कर्पोरेशन (आईओसी)ले पठाएको नयाँ मूल्यसूची अनुसार मूल्य बढाइएको निगमका सञ्चालक समितिका सञ्चालक अरबिन्द अग्रवालले जानकारी दिनुभयो ।
यो पटक मूल्य बढाउँदा अझै पनि निगमलाई महिनामा १८ करोड ६२ लाख घाटा छ ।
यो मूल्य समायोजनपछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १.५९ रूपैया र डिजेलमा ३.४९ रूपैयाँ घाटा छ । ग्यासमा प्रतिसिलिन्डर १३९ रुपैयाँ घाटा छ ।
यो घाटा मूल्य स्थिरीकरण कोषबाट ब्यहोर्ने योजना निगमको छ । करिब साढे ४ अर्ब जम्मा भएको यो कोषबाट घाटा ब्यहोर्न निनगमले सरकारसँग प्रस्ताव गरेको निगमका कार्यकारी निर्देशक सुशिल भट्टराईले जानकारी दिनुभयो ।
निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्रा्ष्ट्रिय तर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ७५ डलर रुपैयाँ बढेको छ ।
अन्तर्रा्ष्ट्रिय बजारमा तेलको मूल्य पछिल्लो समयमा लगातार वृद्धि भइरहेको छ । निगमले प्रत्येक १५र१५ दिनमा आउने नयाँ मूल्य सूचीका आधारमा मूल्य समायोजन गरेको हो ।
नयाँ मूल्य अनुसार भारतमा भन्दा नेपालमा पेट्रोल एक लिटरमा २२ र डिजेल २४ रूपैयाँ सस्तो छ । त्यसैकारण भारततर्फ हुने तेल तस्करी मौलाएको स्रोत बताउछ ।