१८ जेठ, काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले वृद्धभत्तालगायत सामाजिक सुरक्षाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीको भएकाले यसलाई आफूहरुले बिर्सनै नसक्ने दाबी गर्नुभयो ।
बजेटमाथि राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता ०५१ सालमा एमालेले शुरुवात गरेको स्मरण गर्दै वृद्धभत्ता आर्किटेक्ट आफू भएको दाबी गर्नुभयो ।
विपक्षी काग्रेसलाई उक्साउन जरुरी नरहेको जवाफ दिदैँ उहाँले भन्नुभयो, ‘अकस्मात चिन्ता भयो प्रतिपक्षका माननीयज्यूहरुलाई । यसका लागि म धन्यवाद पनि दिन्छु । तर, २०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालको पहिलो बजेट बनाउदै थियौं । संयोगले म त्यसको एउटा आर्किटेक्ट पनि हुँ । त्यो हाम्रो स्वमित्वको विषय हो, त्यसलाई बिर्सने कुरै आउँदैन ।’
सामाजिक सुरक्षा आफूहरुको एजेण्डा भएको भन्दै उहाँले सामाजिक सुरक्षाको स्वरुप दायरा भएको र सबैभन्दा प्रभावकारी हुने भएर नै सरकारले ७० वर्ष उमेर पुगेकालाई स्वास्थ्य विमा र आवासको योजना अघि सारेको बताउनु भयो ।
कसैले वायुपंखी भन्दैमा उक्साहटमा नलाग्ने र कछुवा जस्तो ढिलो पनि नहिड्ने भन्दै अर्थमन्त्री युवराज खतिवडाले बजेट वायुपंखी घोडा र कछुवा दुवै नभएको बताउनु भयो ।
नेपालमा स्थानीय, प्रदेश र संघीय सरकार गरी ७६१ सरकार रहेको भन्दै उहाँले चालु आर्थिक वर्षको बजेटसँग दाँजेर सानो भन्न नहुने बताउनु भयो ।
चालु आर्थिक वर्षको बजेट १२ खर्ब ७९ अर्बको भए पनि २ खर्बको स्रोत नभएको र संशोधित अनुमान १० खर्ब ४६ अर्ब रहेको भन्दै उहाँले यसले आर्थिक वृद्धिलाई सघाउ र्पुयाउने बताउनु भयो ।
अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कार्यालयका नाममा छुट्याएको बजेटले अधिनायकवाद नआउने प्रष्टीकरण दिनुभयो ।