धनगढी, जेष्ठ १५ ।
केन्द्रिय सरकारका मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरेपछि प्रदेश सरकारका मन्त्रीहरुको पनि सम्पति विवरण सार्वजनिक हुँन थालेको छ ।
यसैक्रममा आज प्रदेश ७ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले मुख्यमन्त्री सहित मन्त्रीहरुको सम्पति विवरण सार्वजनिक गरेको छ ।
सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको आफ्नो नाममा कुनै सम्पति छैन् ।
सार्वजनिक सम्पत्ति विवरण अनुसार मुख्यमन्त्री त्रिलोचन भट्टसंग सबैभन्दा न्यून सम्पत्ति छ । मुख्यमन्त्री भट्टको डोटीको केआइसिंह–६ मा एउटा घर सहित साढे २० रोपनी जग्गा छ ।
उक्त घर जग्गा श्रीमती दुर्गा भट्ट र शालिग्राम भट्टका नाममा छ । उहाँसंघ एक तोला सुन छ । ७० हजार बैंक मौज्दात देखाएका मुख्यमन्त्रीले ३ लाख ४० हजार ऋण रहेको उल्लेख गरेका छन् ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विनिता चौधरीको आफ्नो नाममा कुनै सम्पत्ति छैन् । श्रीमान परशुराम चौधरीको नाममा कैलाली भजनी–४ मा ४ कट्टा जग्गा र एक घर रहेको छ ।
यस्तै श्रीमानकै नाममा भजनीमै एक विगाहा जग्गा छ । ७ तोला सुन, ५० हजार बैंक मौज्दात, एक लाख ऋण र ६२ हजार बराबरको शेयर कित्ता रहेको मन्त्री चौधरीले सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।
तर प्रदेश ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा भने प्रदेशका अरु मन्त्रीभन्दा धनी देखिनुभएको छ । बोहराको काठमाडौं, गोदावरी नगरपालिका, टिकापुर र धनगढीमा समेत पत्नी, छोरा र आफ्नो नाममा जग्गा जमिन छ ।
बोहरासँग ३ थान जीप तथा कार, ४० तोला सुन र सेयर कित्ता समेत रहेको छ । सार्वजनिक गरिएको सम्पत्ति विवरण अनुसार अरु मन्त्रीभन्दा धनी देखिएका बोहराको ऋण पनि बढी नै छ ।
विभिन्न् वित्तिय संस्थाहरुमा मन्त्री बोहराको झण्डै २० करोडको हाराहारीमा ऋण रहेको उल्लेख गरिएको छ भने मन्त्री बोहराले विभिन्न कम्पनीको शेयर मात्रै साढे सात करोड रुपैयाँको हाराहारीमा खरिद गर्नुभएको छ ।
यसैगरी जग्गा आफ्नो नाममा नभएपनि समाजिक विकास मन्त्री दीर्घ सोडारी झपट बोहरा पछिको धनी मन्त्रीका रुपमा देखिनुभएको छ ।
बैंक मौजदात ५ लाख ६० हजार रहेको सोडारीको परिवारसँग कैलालीको गौरीगंगा, धनगढी, र अछाममा समेत गरी ६ वटा घर र तराईमा डेढ विघा तथा अछाममा ८ रोपनी जग्गा रहेको छ ।
आन्तरिक मामिला मन्त्री प्रकाशबहादुर शाहसँग ५२ तोला सुन, काठमाडौंमा १ घर तथा बाजुरामा १ घर रहेको छ ।
यसैगरी भौतिक योजनामन्त्री पठानसिंह बोहराको परिवारसँग डडेल्धुराको परशुराम नगरापलिकामा करीब ३० रोपनी जग्गा, २ घर, ४ तोला सुन २ लाख ६४ हजार रुपैयाँ बैंकमा मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।
उद्योग पर्यटन बन तथा वातावरण मन्त्री माया भट्टसँग वैतडी दशरथचन्द ५ मा १ रोपनी जग्गा र १ घर तथा बैंक मौज्दात ५ लाख तथा १५ तोला सुन रहेको छ भने वित्तिय संस्थामा २५ लाख रुपैयाँमा ऋण देखिएको छ ।