काठमाडौँ, १४ जेठ ।
मस्र्याङ्दी करिडोरमा निजी क्षेत्रले निर्माण गरिरहेको जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्युत् खेर जान नदिने गरी तयारी थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लमजुङको दोर्दी तथा न्यादी खोलामा निर्माणाधीन आयोजना सम्पन्न हुन कम्तीमा दुई वर्ष लाग्ने देखिएको भन्दै सो अवधिमा सबस्टेसन तथा प्रसारण लाइन बनाइसक्ने प्रतिबद्धता जनाउनु भएको छ ।
उहाँले प्रसारण लाइन तथा सबस्टेसनको काम द्रुत गतिमा अघि बढाउन प्रसारण लाइन आयोजना प्रमुखलाई निर्देशन दिनुभएको छ ।
प्राधिकरणले प्रसारण लाइन समयमा नबनाइदिँदा विद्युत् खेर जाने अवस्था आउन लागेको भन्दै निजी उत्पादकले आलोचना गरेपछि घिसिङ नेतृत्वको टोली निर्माणाधीन प्रसारण र जलविद्युत् आयोजनाको अवस्था बुझ्न स्थलगत निरीक्षणमा गएको थियो ।
यसैगरी, हिमालय पावर पार्टनरले निर्माण गरिरहेको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, पिपल्स हाइड्रोपावरको ४९ मेगावाटको सुपर दोर्दी ‘ख’ र बुटवल पावर कम्पनीको ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको निरीक्षण गरेको थियो ।
दोर्दी खोलामा निर्माण भइरहेका आयोजनाको विद्युत् जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदिपुर १३२ केभी डबल सर्किट प्रसारण लाइन बनाउन ठेक्का सम्झौता भइसकेको छ । सो प्रसारण लाइन आगामी १८ महिनाभित्र सक्ने लक्ष्य राखिएको छ । अहिले टावरको डिजाइन भइरहेको आयोजनाले जनाएको छ ।
कीर्तिपुरमा सबस्टेसन निर्माण हुने ४८ रोपनी जग्गामा २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ले विद्युत् गृह बनाउने ठाउँ खन्दा निक्लिएको ढुंगा माटो फालिदिएकाले प्राधिकरणले काम शुरु गर्न सकिरहेको छैन । यही कारण ठेकेदारलाई निर्माणस्थल उपलब्ध गराउन सकिएको छैन ।
माथिल्लो दोर्दी ‘ए’ को प्रवद्र्धक कम्पनीका प्रबन्ध सञ्चालक डा आत्माराम घिमिरे र सञ्चालक रामबहादुर पाण्डेले दुई महिनाभित्र ढुंगा माटो हटाउने प्रतिबद्धता जनाउनुभएको छ ।