विराटनगर, १२ जेठ ।
नागरिक लगानी कोषलाई बचतकर्ताको रकममा प्रत्येक तीन महिनामा ब्याज उपलव्ध गराउन सेवाग्राहीले माग गरेका छन् ।
कोषको प्रदेश नं १ शाखा कार्यालय विराटनगरले आयोजना गरेको कार्यक्रममा सहभागीहरुले कोषद्वारा लगानी गरिएको जलविद्युत्को शेयर बचतकर्तालाई वितरण गर्नुपर्नेमा जोड दिएका हुन् ।
मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले बचतकर्तालाई संरक्षण गर्ने गरी नेपाल सरकारको नीतिअनुसार कोषमा जम्मा भएको रकम आर्थिक समृद्धि र उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने आवश्यकत्ता औंल्याउनुभयो ।
कोषका उप व्यवस्थापक रोशनजंग कार्कीले बचतकर्तालाई संरक्षण गरी आगामी दिनमा कोषको लगानी रहने जलविद्युत्को शेयर उपलब्ध गराउने नीति बनाउने बताउनुभयो ।
विसं २०४७ चैतमा स्थापित कोषमा ६ लाख ५० हजार सेवाग्रहीका रु एब खर्ब तीन अर्ब ५८ करोड रकम सञ्चित रहेको छ । कोषले आगामी दिनमा सेवाग्राहीलाई थप सेवा सुविधा उपलब्ध गराउने बताइएको छ ।
तीन वर्ष अगाडि खोलिएको प्रदेश नं १ अन्तर्गतको विराटनगर कार्यालयबाट यस क्षेत्रका साथै प्रदेश नं २ का पर्सा जिल्लासम्मका बचतकर्ताले समेत सेवा प्राप्त गरिरहेको कार्यालय प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।
कोषले आगामी दिनमा मुलुकको संघीय संरचनना अनूरुप सातै प्रदेशमा कार्यालय स्थापना गर्ने कार्यक्रम रहेको छ । काठमाडौँ बाहेक पोखर र विराटनगरमा कार्यालयबाट बचतकर्ताले सेवा पाइरहेका छन् ।