काठमाडौ ७ जेठ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजबाट दैनिक २१ घण्टा सञ्चालनमा आउने भएको छ । हाल दैनिक १८ घण्टा सञ्चालन हुँदै आएको विमानस्थल आजबाट थप तीन घण्टा बढी सञ्चालन हुन लागेको हो ।
दैनिक २१ घण्टा विमानस्थल सञ्चालन हुँदा उडान अवतरणको चाप घट्ने र आकाशमै जहाजलाई ‘होल्ड’ गर्नुपर्ने समस्या समाधान हुने विश्वास गरिएको छ ।
यसअघि राति साढे १२ बजेसम्म सञ्चालन हुँदै आएको विमानस्थल आजबाट बिहान ६ बजेदेखि अर्को दिन बिहान तीन बजेसम्म सञ्चालन हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो ।
त्यसका लागि आवश्यक जनशक्ति र एटीसी लगायत पक्ष समेत व्यवस्थापन भइसकेको क्षेत्रीले बताउनु भयो । उहाका अनुसार बोर्ड बैठकले अतिरिक्त समय खटिने कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय पनि गरिसकेको छ ।
यसअघि पर्यटन मन्त्री रविन्द्र अधिकारीले सय दिने कार्ययोजना सार्वजनिक गर्दै दैनिक २१ घण्टा विमानस्थल सञ्चालन गर्न निर्देशन दिनु भएको थियो ।
उनको निर्देशनअनुसार अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक २१ घण्टा सञ्चालनमा ल्याउन सुरु गरिएको बताइएको छ ।