काठमाडौ ५ जेठ ।
नेपाली सेनाले निर्माण जिम्मा पाएको बहुचर्चित मैलुङ–स्याफ्रुबेँसी सडकखण्ड निर्धारित समय भन्दा नौ महिनाअघि सम्पन्न भएको छ ।
सो सडकखण्डको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकाले भोली हस्तान्तरण गर्ने तयारी गरेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले जानकारी दिनुभयो ।
काठमाडाँंैबाट चीन जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा रहेको यो सडक खण्डको निर्माण कार्य २०७२ वैशाखदेखि सुरु भएको हो । चीनसँग रसुवागढी नाका जोड्न यो सडकखण्डले विशेष महत्व राख्दछ ।
नेपाल–भारत–चीन जोड्ने त्रिदेशीय मार्गका रूपमा रहेको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडकको यो खण्डको कुल लम्बाइ ८४ किलोमिटर छ भने चौडाइ नौदेखि ११ मिटर रहेको सैनिक प्रवक्ता भण्डारीले जानकारी दिनुभयो ।
भण्डारीका अनुसार १३० फिट लामो बेलिब्रिज निर्माण गरिएको छ । रसुवाको मैलुङदेखि स्याफ्रुबेँसीसम्म १७ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरेको छ भने गल्छीबाट मैलुङ सम्मको ४६ किलोमिटर सडक कोभेक–टुण्डी–रसुवा कन्स्ट्रक्सनले गरिरहेको छ ।
सेनाले हाल कर्णाली करिडोर, कालीगण्डकी करिडोर, काठमाडौँ–तराई द्रुतमार्ग (फास्टट्र्याक), जाजरकोट डोल्पा, बेनीघाट लार्के भन्ज्याङ लगायत सडकखण्ड समेत निर्माण गरिरहेको छ ।
२० वर्षे दीर्घकालीन सडक गुरुयोजना अन्तर्गत पहाडमा चार घन्टामा र तराईमा दुई घन्टा पैदल दूरीमा पक्की सडक सुविधा पुग्ने गरी सडक सञ्जालको विकास गर्ने सरकारको लक्ष्य छ ।