काठमाडौँ, ३० वैशाख ।
जनताको विकास र चाहनाप्रतिको आशा र चाहनालाई सम्बोधन गर्दै आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्नेमा जोड दिइएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७५÷७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) को छलफलमा धारणा राख्ने अधिकांश सांसदले जिम्मेवारी बहन गर्नुपर्ने निकायलाई जिम्मेवार बनाई बजेटको प्रभावकारी कार्यान्वयन गर्ने तथा व्यावहारिक रुपमा आर्थिक समृद्धिको कार्ययोजनालाई प्रस्तुत गर्न जोड दिएका छन ।
समृद्धिका लागि आत्मबल तयार पार्ने तवरले बजेट आउनुपर्नेमा जोड दिँदै सांसदले वर्तमान सरकारप्रति जनताको असाधारण विश्वास रहेको विषयलाई सम्बोधन गर्नुपर्ने धारणा राखेका थिए ।
सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अवधारणा अगाडि सारेका सन्दर्भमा पर्यटन, कृषि, ऊर्जा, जडीबुटी र जंगलमा विशेष लगानी गर्नुपर्छ भन्दै उहाँहरुले वास्तविकतामा आधारित बजेट जरुरी रहेको बताएका छन ।
सत्तापक्षका सांसदले अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतालाई समर्थन जनाउनुभएको थियो भने प्रतिपक्षी दलका सांसदले भने वर्तमान सरकारले दिशाहीन र नेपाली जनताले खासै नयाँपन पाउनेखालको प्रस्ताव आएको गुनासो गर्नुभएको थियो ।
नेकपा (माओवादी केन्द्र)का जनार्दन शर्माले बजेट कार्यान्वयनमा ढिलासुस्ती गर्ने प्रवृत्तिको निरुत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँले ठूला कार्यक्रमलाई जोड दिएर यथेष्ट बजेट उपलब्ध गराउन माग गर्नुभएको छ । माओवादी केन्द्रका कमला रोकाले आधा धर्ती र आधा आकाश ढाकेका महिलाको हितमा बजेट आउनुपर्नेमा जोड दिनुभयो ।
पूर्वअर्थमन्त्रीसमेत रहनुभएका नेकपा (एमाले)का विष्णुप्रसाद पौडेलले नेपाली जनताको आत्मबल बढाउने र आर्थिक समृद्धिको आधार तयार पार्नेखालको बजेट ल्याउन सरकारलाई सुझाव दिनुभएको छ ।
संसद्मा प्रस्तुत विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा प्रभावकारी र व्यावहारिक विषय समेटिएकाले त्यसलाई मूर्त रुप दिने बजेट जरुरी छ ।
नेपाली काँग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विगतका सरकारलाई आरोप लगाउने सरकारले हचुवाका भरमा बजेटका सिद्धान्त प्रस्तुत गरेको दोषारोपण गर्नुभएको थियो ।
यस्तै काँग्रेसकै दिलेन्द्रप्रसाद बडूले शिक्षा क्षेत्रमा ३० प्रतिशत बजेट विनियोजन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
काँग्रेसका प्रदीप गिरीले रोजगार र सामाजिक सुरक्षाको विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउन सुझाव दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक भोलि बिहान ११ः०० बजे बस्नेछ ।