नवलपरासी, २२ वैशाख ।
आर्थिक रुपमा समृद्ध नगरपालिका निर्माणका लागि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले आर्थिक विकास रणनीति अघि सारेको छ ।
रणनीतिअनुसार नगरवासीको स्वामित्वमा सुनवलमा १५ श्ययाको अस्पतालका साथै दुई वटा ठूला डिपाटमेन्टल स्टोर स्थापना गर्ने प्रारम्भिक योजना रहेको नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जानकारी दिनुभयो ।
नगरपालिकाको ५१ प्रतिशत, नगर क्षेत्रमा रहेका सहकारीसहित वित्तीय संस्थाको ४९ प्रतिशत शेयर मार्फत अस्पताल र डिपाटमेन्टल स्टोर स्थापना गर्ने योजना रहेको छ ।
सरकारी निकायबाट आवश्यक ऋण लिएर नगरपालिकाले अपनत्व ग्रहण गरी नगरवासीलाई साथमा लिएर आगामी पाँच वर्ष्भित्र दुबै काम गर्न आवश्यक भएकाले रणनीति अघि सारेको नगरप्रमुख थापाको भनाइ छ ।
सबै नगरवासीको डिजिटल दस्तावेज कायम गरी अभिलेख राख्ने राखेर वितरण गरिने नगरवासी परिचय पत्र कार्डमार्फत छुट वा सहुलियत दिएर दुबै योजना सफल बनाउने नगरपालिकाको लक्ष्य छ ।
सबै घरघुरीको सर्वेक्षण गरी सबैको सूचनालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी नगरवासी परिचय पत्र जारी गर्ने योजना बनाएको छ ।