काठमाडौं, २१ वैशाख ।
गृहमन्त्री रामबहादुर थापाकाे निर्देशन लगत्तै देशभर सार्वजनिक यातायात बन्द गर्ने सिण्डिकेटवाला ७१ व्यवसायी पक्राउ परेका छन्। राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलासहित ठूलो संख्यामा यातायात व्यवसायी पक्राउ परेका हुन्। भृकुटीमण्डपबाट महासंघका महासचिव सिटौलालाई पक्राउ परेका हुन् ।
प्रदेश १
प्रदेश नम्बर १ को धरानबाट महासंघका केन्दीय उपाध्यक्ष कृष्ण सुवेदी, पूर्वाञ्चल यातायात संघका अध्यक्ष सरोज श्रेष्ठ, संयुक्त बस व्यवसायी संघका अध्यक्ष नरेन्द्र पोमु, सप्तकोसी बस व्यवसायी संघका सचिव हरि थापा, व्यवसायीहरु सुमन थापामगर, मोहनमणि बराल, गणेश विष्ट, श्याम कट्टेल, पदम सुन्दास गरी ९ जनालाई पक्राउ गरेका छ।
इटहरीबाट १ व्यवसायी जना पक्राउ परेका छन्। जिल्ला भोजपुरमा शुक्रबार चार जना यातायात व्यवसायी पक्राउ गरेका छन्। जसमध्ये संयुक्त बस व्यवसायी संघका अध्यक्ष गोपाल मोक्तान, सचिव पाण्डव राई, सगरमाथा ट्याक्सी व्यवसायी संघका अध्यक्ष राजन राई र कोषाध्यक्ष अर्जुन तामाङ पक्राउ परका छन्। उदयपुरको गाईघाट बजारबाट हिमाली यातायात बस व्यावसायी संघका उपाध्यक्ष उमेश बस्नेत, कोषाध्यक्ष विष्णु श्रेष्ठ र सदस्य सुरेशकुमार कार्कीलाई पक्राउ गरिएको छ।
झापाका सात यातायात व्यवसायी पक्राउ परेका छन्। पक्राउ पर्नेमा मेची बस व्यवसायी संघका अध्यक्ष मोहनप्रसाद उप्रेती, हिमाल यातायात संघका कार्यबाहक अध्यक्ष भूपाल ओली, सगरमाथा यातायात प्रालिका अध्यक्ष खगेन्द्र उप्रेती, निर्देशक बुद्ध तिवारी, सदस्य राजकुमार पाण्डे, श्याम थापा र पूर्वी बस व्यवसायी संघका अध्यक्ष केशव गिरी रहेका छन्। प्रदेश १ बाट मात्र सबैभन्दा बढी २५ जना पक्राउ परेका छन् ।
प्रदेश २
प्रदेश २ को सप्तरीको राजविराजबाट ३ व्यवसायी पक्राउ परेका छन्। सगरमाथा यातायात संघका सचिव दिनेश साह, सदस्य गजेन्द्र भगत र दिनेश गुप्ता रहेका छन्। रौतहट बस व्यवसायी संघका अध्यक्ष लालबाबु गिरी, ट्रक व्यवसायी संघका अध्यक्ष धु्रव अर्याल र टेम्पो तथा मझ्यौला संघका अध्यक्ष ताराबहादुर बजगाईंलगायत १५ जनालाई पक्राउ गरिएको छ।
प्रदेश ३ मा
प्रदेश ३ को प्रहरीले काभ्रे मिनीबस सेवा समितिका उपाध्यक्ष शान्तराम ताम्राकारलाई पनि पक्राउ गरेको छ।यस्तै हेटौंडामा टेम्पो तथा मझौला यातायात व्यवसायी संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, सदस्यहरु कृष्ण श्रेष्ठ र कृष्ण न्यौपानेसहित ११ जना पक्राउ परेका छन्।
प्रदेश ४
लमजुङमा सञ्चालनमा रहेको लमजुङ कालिका यातायात सञ्चालक समितिका अध्यक्ष कृष्णबहादुर अधिकारी, वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद घिमिरे, उपाध्यक्ष विश्वम्भर अर्याल, सचिव मृगेन्द्र घिमिरे र सदस्य रेशम दनाईलाई पक्राउ गरिएको छ। कास्कीको पोखरामा रूद्रबहादुर नेपाली, रमेश सुचीकार, सुनील थापा र निर्मल तामाङ पक्राउ परेका हुन। उनीहरू क्रमश पृथ्वी राजमार्ग बस सञ्चालक समिति, पोखरा नगर बस समिति र बागलुङ भगवती जिप समितिसँग आवद्ध छन्। धौलागिरि यातयात बस व्यवसायी सञ्चालक समितिका महासचिव ख्याम लामिछाने पक्राउ परेका छन्। प्रदेश ४ बाट पाँच जना मात्र पक्राउ परेका छन् ।
प्रदेश ५
प्रदेश नम्बर ५ को बुटवलबाट पश्चिम पश्चिम नेपाल बस व्यवसायी समितिका उपाध्यक्षदवय जीवनकुमार बन्जाडे, अशोककुमार श्रेष्ठ र महासचिव पदमराज गाहासहित ८ लाई नियन्त्रणमा लिएको छ। त्यस्तै दाङबाट तुलसीपुर जीप तथा मिनिबस, बस व्यवसयायी समितिका कार्यबाहक अध्यक्ष डिल्ली भण्डारीसहित २ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । सञ्चालनमा रहेको कृष्णसार यातायात ब्यवसायी संघका महासचिव र सचिवलाई मधुवन नगरपालिकाबाट पक्राउ गरेको छ। जनताको अत्यावश्यक सेवा सञ्चालन नगरेको भन्दै महासचिव भुमिदत्त शर्मा र सचिव कोयल खड्कालाई पक्राउ गरेको हो। प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका पाल्पा इन्चार्ज बिकास भट्टराई र श्रीनगर यातायात व्यवसायी समिति कोषध्यक्ष किरण चित्रकारसहित प्रदेश ५ बाट १२ जना पक्राउ परेका छन् ।
प्रदेश ६
प्रदेश ६ को कालीकोटबाट ३ जना व्यवसायी पक्राउ परेका छन्। जिल्ला सदरमुकाम मान्म स्थित काँक्रेबिहार बस व्यवसायी समितिका इन्चार्ज भरत शाही, कर्णाली यातायात व्यवसायी समितिका इन्चार्ज खगेन्द्र खड्का र मध्यपश्चिम बस व्यवसायी समितिका जितेका काउन्टर इन्चार्ज कबिन्द्र शाही पक्राउ परेका छन्।
प्रदेश ७
प्रहरीले एक जना यातायात व्यवसायीलाई पक्राउ गरेको छ। कैलालीको कर्णाली रिभर साइड यातायात समितिका अध्यक्ष धीरज शाहीलाई पक्राउ गरिएको छ। सरकारले धमाधाम पक्राउ गर्न थालेपछि सीमा क्षेत्रका यातायात व्यवसायीहरु भारततिर भाग्न थालेका छन्।