२५ वर्ष सम्म रिजेन्सी होटललाई घाटा मात्र देखाउने पदाधिकारी लाइ कारबाही गर्न सिफारिस

२५ वर्ष सम्म रिजेन्सी होटललाई घाटा मात्र देखाउने पदाधिकारी लाइ कारबाही गर्न सिफारिस

  • सोमवार, बैशाख १७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.6K
    SHARES

 

– रमेश लम्साल र सिवी अधिकारी

काठमाडौँ, १७ वैशाख (रासस) ः महालेखा परीक्षकको कार्यालयले नीतिगत एवं आर्थिक विषयमा अनियमितता गरेको भन्दै तारागाउँ विकास समितिका पदाधिकारीलाई कारवाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिको क्षेत्राधिकारमा रहेको ३०४ रोपनी जग्गा र घरमध्ये १५० रोपनी जग्गा र रु दुई करोड बराबरको घरमा गरिएको शेयर लगानीको कुनै हिसाब किताब नभएको भन्दै महालेखाले कारवाहीका लागि सिफारिस गरेको हो ।

शुरुमा ३९.७७ प्रतिशत गरिएको शेयर लगानी घटेर हाल ९.०१ प्रतिशत कायम भएको छ । यस्तै बाँकी रहेको १५४ रोपनी जग्गा पुनः मूल्यांकन गर्ने विषयमा संसद्को सार्वजनिक लेखा समितिले पटक पटक निर्देशन दिएको थियो । समितिको निर्देशनसमेत कार्यान्वयन नभएको भन्दै महालेखाले जिम्मेवार अधिकारीलाई कारवाही गर्न निर्देशन दिएको हो ।

यस्तै समितिको नयाँ सडकस्थित भवनको पसल भाँडाबापतको बक्यौता रु ३८ लाख ७७ हजार रहेको छ । सम्बन्धित पदाधिकारीलाई जिम्मेवार बनाई सम्झौता तथा प्रचलित कानूनअनुसार बक्यौता असुल गर्न महालेखाले सरकारलाई निर्देशन दिएको हो ।

सञ्चित नाफा कमाउने उद्देश्यले नै कुनै पनि व्यापार व्यवसाय गरिन्छ, तर तारागाउँ विकास समितिले सञ्चालनको २५ वर्षसम्म कुनै प्रतिफल नदिएको पाइएको महालेखाले औँल्याएको छ ।

महालेखापरीक्षकको प्रतिवेदनअनुसार समितिले आर्थिक वर्ष २०५०÷५१ मा तारा गाउँ रिजेन्सी होटल लिमिटेडको साधारण शेयरमा रु १७ करोड लगानी भएको थियो । त्यसमा १५० रोपनी जग्गाको मूल्य रु १५ करोड र घरको मूल्य रु दुई करोड मूल्याङ्कन गरिएको थियो । लगानीबापत ३९.७७ प्रतिशत शेयर प्राप्त गरेकामा हालसम्म शेयर लगानीबाट प्रतिफल प्राप्त नभएको महालेखाले जनाएको छ ।

समितिको स्वामित्वमा रहेको, १५० रोपनी जग्गा हाल तारा गाउँ रिजेन्सी होटल लिमिटेडलाई भाडामा दिएकामा जग्गाको पुनःमूल्याङ्कन हुन सकेको छैन ।

बौद्धस्थित अधिग्रहणबाट प्राप्त ३०४ रोपनी जमिनमध्ये बाँकी १५४ रोपनी जग्गा होटल सञ्चालनमा आएको पाँच वर्षभित्र सोही होटलबाट निष्कासित १७ प्रतिशत अग्राधिकार शेयर वा साधारण शेयरमा लगानी गर्नुपर्ने व्यवस्था गरिएको थियो ।

संसद्को सार्वजनिक लेखा समितिले २०५० साल पुस २१ गते र २०५० साल चैत १८ मा घर जग्गाको यथार्थ मूल्याङ्कन गर्न निर्देशन दिएको थियो ।

समितिले १५० रोपनी जग्गामा अन्तर्राष्ट्रियस्तरको होटल सञ्चालन गर्न प्रस्ताव गरेको थियो । सोही प्रस्तावअनुसार नै समितिले तोकेको मूल्याङ्कनलाई स्वीकार गरी प्रचलित नियमबमोजिम होटल सञ्चालन गर्न समितिसँग सम्झौता भएकोे थियो तर नियमसंगत तवरले सम्झौता नभएको र प्रतिफल कमाउन स्थापना गरिएको संस्थाले नियमअनुसार काम नगरेको भन्दै महालेखाले समितिलाई आफ्नो हितलाई ध्यानमा राखी कारवाही अगाडि बढाउनु पर्ने देखिएको जनाएको छ ।

तारागाउँ रिजेन्सी होटेल लिमिटेडले प्रकाशित गरेको आव २०७२÷७३ को वित्तीय विवरणअनुसार होटेलको शेयर पूँजी रु एक अर्ब ८९ करोडको ९.०१ प्रतिशतले रु १६ करोड ९९ लाख मात्र समितिको शेयर देखिएको छ । उक्त परिमाणको शेयर र जग्गाको यथार्थ मूल्याङ्कन नभएको महालेखाको भनाइ छ ।

तारा गाउँ विकास समितिका अध्यक्ष नारदकुमार लुइँटेलले महालेखाले औँल्याएको कमजोरी यथार्थसँग नजिक रहेको उल्लेख गर्दै थप अनुसन्धान हुनुपर्ने बताउनुभयो ।

उहाँका अनुसार होटलले राम्रै नाफा कमाए पनि खर्च बढी देखाएर २५ वर्षसम्म घाटामा रहेको देखाएको पाइएको छ । विगत १० वर्षदेखि होटल नाफामा नै रहेको जानकारी आफूलाई प्राप्त भए पनि होटल व्यवस्थापनले सधैँ घाटा देखाउने गरेको अध्यक्ष लुइँटेलको भनाइ थियो ।

जग्गाको पुनःमूल्याङ्कन गरी हिसाब किताब पारदर्शी बनाउनुपर्ने माग आफूले विगतदेखि नै राख्दै आएको, सञ्चालक समितिको बैठकमा समेत सहभागी नभएको जानकारी दिँदै अध्यक्ष लुइँटेलले बजार मूल्यअनुसार जग्गाको मूल्य रु १५ अर्ब बराबर रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हिसाब पारदर्शी नभएका कारण सञ्चालक समितिको बैठकमा विगत साढे दुई वर्षदेखि म सहभागी छैन । महालेखाले सबै हिसाब नियन्त्रणमा लिएर थप अध्ययन गर्नु प¥यो । जग्गाको पुनःमूल्याङ्कन गर्नुप¥यो । फर्जी हिसाब देखाएर होटल व्यवस्थापनले घाटा देखाइरहेको छ ।” अध्यक्ष लुइँटेलका अनुसार सो कम्पनीमा ४८ हजार शेयरधनी छन् ।

होटल सञ्चालकको शुरुवाती चरणमा १५० रोपनी जग्गाको मूल्यांकन गरी रु १५ करोड लगानी गरिएको भए पनि हालसम्म प्रतिफल प्राप्त हुन सकेको छैन । होटल व्यवस्थापनले शुरुमा रु २५ करोड लगानी गरेको थियो ।

हाल सो होटलको अध्यक्षमा भारतीय नागरिक राधेश्याम सर्राफ, अरुण सर्राफ प्रबन्ध निर्देशक, दिनेशलाल श्रेष्ठ र सुरेशलाल श्रेष्ठलगायतले व्यवस्थापन गर्दै आएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी