काठमाडौं, वैशाख ४।
नेपाल इन्भेस्टमेण्ट बैंक लिमिटेडले वैशाख १८ गते देखि पुरानो एटीएम कार्डबाट हुँदै आएको कारोबार बन्द बन्द गरेर इएमभी चिपबाट मात्र कारोवार गर्ने जानकारी दिएको छ ।
चिप प्रविधिमा आधारित कार्ड सिद्धार्थ, माछापुच्छ्रे, एनएमबी, सिटिजन्स, ग्लोबल आईएमई बैंकले यसअघि प्रयोगमा ल्याइसकेका छन् ।
बैंकको सेवा सुरक्षित, गुणस्तरीय र विश्वासिलो बनाउन माइक्रोप्रोसेसर चिपजडित इएमभी चिप कार्डबाट मात्रै कारोवार गर्न लागिएको बैकको सूचनामा उल्लेख छ । बैंकले सबै खालका डेबिट, क्रेडिट र प्रिपेड कार्डलाई चिप प्रविधिमा रुपान्तर गरेर नयाँ कार्ड लिन पनि ग्राहकहरुलाई आग्रह गरेको छ ।
यो कार्ड बैंकिङ कारोवारका लागि अन्तर्राष्ट्रिय स्तरमै सुरक्षित मानिन्छ । माइक्रोप्रोसेसर चिपजडित यस्तो कार्डबाट हरेक पटक कारोवार गर्दा ‘कम्प्लेक्स एलगोरिदम’ बाट ‘इनक्रिप्ट’ गरिने हुँदा कार्डको डाटा चोरी तथा जालसाजीको सम्भावना निकै कम हुने बैंकले जनाएको छ ।
विशेषगरी सपिङ मलहरुबाट कार्ड ह्याकिङका घटना धेरै हुने गरेका छन् । यसलाई रोक्न पनि चिप कार्ड महत्वपूर्ण हुन्छ । डूअल अथेन्टिकेसन अप्सन भएकाले चिपमा आधारित कार्डमा पीओएस मेसिनमा कार्ड स्वाइप गरेपछि पनि पिन कोड हाल्नु पर्छ ।
प्रहरीको अनुसन्धान अनुसार नेपालमा तीन तरिकाबाट एटीएम कार्ड ह्याकिङ हुने गरेका छन् । सबैभन्दा धेरै ह्याकिङ सपिङ मलबाट हुने गरेको छ । सपिङ गर्ने क्रममा ग्राहकले कार्ड स्वाइप गर्दा पीओएस मेसिनमा अतिरिक्त डिभाइस जडान गरी डाटा ह्याक गरी नयाँ एटिएम बनाउने गरिएको छ ।
त्यस्तै, एटिएम बुथमा गोप्य डिभाइस र गोप्य क्यामरा राखेर डाटा र पिन नम्बर नै चोरी गरेर पनि ह्याकिंग हुन्छ । ती डाटा खाली कार्डमा भरेर नक्कली एटीएम बनाई त्यही पिन नम्बर बनाएर पैसा चोरी हुने गरेको छ । यो अपराधको प्रवृति पछिल्लो समय नेपालमा देखिएको छ । कतिपय अवस्थामा भने ग्राहककै मिलेमतोमा समेत एटीएमबाट चोरी हुने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
बैंकहरुले चिप्समा आधारित एटीएम कार्ड बाँडे पनि एटिएम बुथ (मेसिन) भने पुरानै छ । मेसिन पूर्ण रुपमा चिप्समा आधारित छैनन् । कार्ड सक्कली÷नक्कली के हो भनेर सहजै पत्ता लगाउन एटीएम मेसिनले चिप्स पढ्न सक्नुपर्छ ।
मेसिनमा त्यही क्षमता नहुँदा ह्याकरले एटीएम कार्डको डाटा र ग्राहकको पिन नम्बर चोरेर नक्कली कार्डमार्फत पैसा निकाल्ने गरेको प्रहरी अनुसन्धानले समेत पुष्टि गरेको छ ।
प्रविधियुक्त चिप कार्ड प्रयोगमा ल्याएपनि बैंकहरुले कार्ड सुरक्षित राख्ने उपायबारे भने उपभोक्तालाई जनचेतना जगाउन पर्याप्त ध्यान दिन सकेका छैनन् ।
यसले पनि अधिकांश समस्या उत्पन्न गराएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । बैङ्कको सिस्टम सुरक्षित हुँदा पनि कार्ड असुरक्षित हुनु उपभोक्ताप्रति बैंकको बेवास्ता रहेको प्रहरीको निष्कर्ष छ ।