काठमाडौं, चैत १६ ।
अर्थमन्त्री युवराज खतिवडाले बजेट कार्यान्वयन नहुने समस्या ठूलो चुनौती रहेको बताउनु भएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै अर्थमन्त्री खतिवडाले श्रोत साधनको परिचालन नहुनु र छुट्याइएको बजेट कार्यान्वयन नगर्नाले विकास निर्माणका काम पछाडि परेको बताउनु भएको हो । सरकारले श्वेतपत्र ल्याउन लागेको पनि उहाँले जानकारी दिनुभयो । श्वेतपत्र सार्बजनिक गर्नुअघि उहाँले यसबारे संसदलाई जानकारी गराउनुभएको हो ।
उहाँले राजस्व चुहावट, वैदेशिक सहायताको दुरुपयोग, आयोजना निर्माणमा ढिलासुस्ती र दातृ निकायबाट आउनुपर्ने सहयोग रकम समयमै नआउँदा सरकारका काम कारवाही प्रभावित हुने गरेको बताउनुभयो । वैदेशिक ऋण बढ्दै गए पनि विकास निर्माणका काममा ठूलो प्रगति नभएको अर्थमन्त्री खतिवडाको भनाई छ ।
भूकम्पबाट क्षतिग्रस्त घर तथा प्राकृतिक सम्पदाको पुनर्निर्माणमा ढिला भइरहेको भन्दै उहाँले यसका लागि दक्ष जनशक्ति र कडा अनुगमनको खाँचो रहेको बताउनुभयो । अर्थमन्त्री खतिवडाले व्यवस्थापकीय पक्ष कमजोर हुँदा सरकारी स्वामित्वका काम निजीकरण गरिए पनि प्रभावकारी सञ्चालन हुन नसकेको दाबी गर्नुभयो । सरकारले कृषि, पर्यटन र जलविद्युतका क्षेत्रमा राम्रो काम गर्ने अवसर पाएको र यसमा वैदेशिक सहयोग बढ्ने सम्भावना रहेको पनि उल्लेख गर्नुभयो ।
तर यसका लागि सरकारले आफ्ना प्रतिबद्धता अनुसार काम गर्न इमान्दारिता देखाउनुपर्ने उहाँको भनाई छ । उहाँले निजी र सहकारी क्षेत्रका कामलाई प्रोत्साहन गरिने भन्दै प्रदेश र स्थानीय तहलाई राजस्व संकलन गरी स्रोत परिचालन गर्न हौसला दिइने पनि बताउनुभयो ।