काठमाडौँ, २ चैत ।
पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
नेशनल बैंकिङ इन्स्टिच्युटद्वारा आज आयोजित विद्युतीय भुक्तानी सम्मेलनमा सहभागी सरोकारवालले पछिल्लो समय विश्वको बैंकिङ बजारमा आएको प्रविधिलाई नेपाली बैंकहरुले पनि अनुशरण गर्दा विद्युतीय भुक्तानीलाई जोड दिनुपर्ने खाचो औल्याएका हुन् ।
विद्युतीय भुक्तानी प्रविधिका विज्ञ राहुल जोशीले निजी क्षेत्रका बैंकहरुले आफूलाई समय अनुकूल अद्यावधिक गर्दै विद्युतीय करोवारमा अगाडि बढिरहेको बताउनुभयो ।
आयोजक संस्थाका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले बैंकले पारदर्शिता, कर अभिवृद्धि र सुशासनका लागि विद्युतीय भुक्तानीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नुपर्ने बताउनु भयो ।
उहाँले विद्युतीय भुक्तानीमैत्री बनाउन प्रशिक्षण कार्यक्रम आयोजना गरिएको चर्चा गर्नुभयो ।
आयोजक संस्थाका कार्यकारी व्यवस्थापक सञ्जिव सुब्बाले विद्युतीय भुक्तानीले बैंकको क्षमता वृद्धि हुने बताउनुभयो ।