काठमाडौँ, १४ फागुन ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राहीले निजी आवास पुनःनिर्माण गरिरहेको जनाएको छ ।
प्राधिकरणमा प्राप्त पछिल्लो तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल छ लाख ६७ हजार ६६२ लाभग्राहीमध्ये छ लाख १० हजार ५०० भूकम्पपीडितसँग अनुदान सम्झौता भएको छ ।
आजसम्म एक लाख २३६ घरको पुनःनिर्माण सम्पन्न भएको छ । तीन लाख ३२ हजार ३२१ घर पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।
पाँच वर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते प्राधिकरणको स्थापना गरेको थियो । प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ ।
यही अनुपातमा आवास पुनःनिर्माणको काम अघि बढे आगामी वर्षात्अघि ६० प्रतिशत आवास पुनःनिर्माण भइसक्ने उहाँले बताउनुभयो ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आवास पुनःनिर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीयस्तरमा परिचालन गरिएकाले आवास निर्माणले गति लिएको बताउनु भयो ।
भूकम्प कम प्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने छ ।
कम प्रभावित जिल्लाका कूल एक लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो ।