काठमाडौँ, ९ फागुन ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणमा स्थलगत रुपमा खटिने इञ्जिनियरले मोबाइल एपमार्फत् प्रगति विवरण भर्न सक्ने प्रणालीको विकास गरेको छ ।
एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा प्राधिकरणले आयोजना अनुगमन सूचना प्रणाली निर्माण गरी आज सार्वजनिक गरेको हो । यो प्रणालीमा भूकम्प प्रभावित ३२ जिल्लास्थित स्थानीय तहका वडामा पुनःनिर्माणमा लागेका इञ्जिनियरले तथ्यांक राख्न सक्नेछन् ।
यसका लागि इञ्जिनियरलाई ‘युजर नेम’ र ‘पासवर्ड’ उपलब्ध गराइनेछ । कार्यस्थलबाट इञ्जिनियरले राखेको सूचनालाई सम्पादन भने प्राधिकरणको केन्द्रले मात्र गर्न सक्नेछ ।
प्रणाली सार्वजनिक गर्दै प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले पुनःनिर्माणमा विनियोजन गरिएको खर्चको सदुपयोग कसरी भइरहेको छ र प्रगति कति भएको छ भन्ने थाहा पाउन सहयोग मिल्ने बताउनुभयो ।
यो प्रणालीमा सूचना राख्नका लागि इञ्जिनियरलाई तालीम दिने तयारी गरिएको प्राधिकरणले जनाएको छ । प्रणालीमा निजी आवास, सरकारी भवन, पुरातात्विक सम्पदा, विद्यालय, स्वास्थ्य संस्थालगायत सबै किसिमका संरचना पुनःनिर्माणको तथ्यांक समावेश गरिनेछ ।
कार्यक्रममा प्राधिकराणका सचिव मधुसुदन अधिकारीले जिल्ला समन्वय समितिको सचिवालयले जिल्ला भरको खर्च र प्रगति विवरण प्रणालीमा राख्ने जानकारी दिनुभयो । पुनःनिर्माणसम्बन्धी ठेक्का पट्टाको विवरण पनि जिल्ला सचिवालय र केन्द्रले नै राख्नेछन् ।
प्रणाली सार्वजनिक कार्यक्रममा बैंकका देशीय निर्देशक मुख्तर खामुदखानोभले पुनःनिर्माणको अनुगमनका लागि उपयुक्त विधि भएको बताउनुभयो ।
यस्तै प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि दोस्रो र तेस्रो किस्ता दाबी गर्ने सेवाग्राहीको संख्या बढेको प्राधिकरणले जनाएको छ । हालसम्म एक लाख निजी आवास पुनःनिर्माण भइसकेका छन् । सवा तीन लाख घर पुनःनिर्माण शुरु भएको छ । सात लाख ६७ हजार लाभग्राही प्रमाणीकरण भएकामा एक लाखले अनुदान सम्झौता गरेका छैनन् ।
आवास पुनःनिर्माणका लागि जग्गा नभएका र अन्यत्र आवास भएका लाभग्राही अनुदान सम्झौता गर्न नआएको उहाँले बताउनुभयो ।