काठमाडौँ, २७ माघ ।
उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताउनुभएको छ ।
नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु पाँच खर्ब व्यापार घाटा रहेको बताउनुभयो ।
चालु आर्थिक वर्षको पहिलो छ महिनामा चीनबाट नेपालमा रु ६७ अर्ब ८८ करोडको सामान आयात गरिएको र नेपालबाट चीनमा रु एक अर्ब ५८ करोडको सामान मात्र निर्यात भएको भन्दै उहाँले यस अवधिमा चीनसँग रु ६६ अर्ब ३० करोडको व्यापार घाटा भएको बताउनु भयो ।
दैनिक उपभोग्य वस्तुदेखि निर्माण सामग्रीसम्म आयात भइरहेकोतर्फ उपराष्ट्रपति पुनले चिन्ता प्रकट गर्नुभयो । उत्पादन र निर्यातमा ध्यान दिनसके चीनसँगको व्यापार घाटा कम गर्न सकिने उहाँको भनाइ थियो ।
चीनसँग व्यापार हुने कोदारी नाका भूकम्पपछि बन्द हुनु र रसुवा नाकामा भौतिक संरचना राम्रो नहुँदा देशको अर्थतन्त्रमै असर परेकाले यसतर्फ गम्भीर हुन सरोकार भएका निकायका अधिकारीलाई उपराष्ट्रपति पुनले आग्रह गर्नुभयो ।
सिन्धुपाल्चोक क्षेत्र नं १ का सांसद अग्निप्रसाद सापकोटाले राजनीति ट्र्याकमा आएकाले विकास निर्माणका माध्यमबाट समृद्धिको ढोका खोल्ने समय आएको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य संघका उपाध्यक्ष उमेशलाल प्रधानले सरकारका १४ निकायले प्रहरी लगाएर व्यवसायीको अनुगमन गर्दा पनि कालोबजारियाका नाममा दुःख दिइएको गुनासो गर्नुभयो ।
कर तिरेर व्यापार गर्दा सरकारले २० प्रतिशतभन्दा बढी नाफा नखाऊ भन्नु जायज नभएको उहाँको भनाइ थियो ।
नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेशकुमार अग्रवालले ४० वर्षअघि बनेको कालोबजारिया ऐनलाई खारेज गर्न माग गर्नुभयो ।
सो अवसरमा चीनको गोञ्जाओ प्रान्तमा रहेको नेपाली महावाणिज्य दूतावासका महावाणिज्य दूत रवि भट्टराई, संघका अध्यक्ष विष्णुबहादुर खत्री र महासचिव अर्जुनप्रसाद गौतमले चीनसँगको व्यापारलाई सहज बनाउन आवश्यक पूर्वाधार निर्माण एवं तयारीका काम गरिनुपर्नेमा जोड दिनुभयो ।