लमजुङ, १ माघ ।
लमजुङमा निर्माण सम्पन्न माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा जोखिम बढेको स्थानीयवासीले गुनासो गरेका छन् ।
मस्र्याङ्दी गाउँपालिकाअन्तर्गत ङादीमा बाँध क्षेत्रमा बनेको तलाउ वरपर सुरक्षित तारजाली नहुँदा जोखिम भएको हो ।
आयोजनाले बाँधक्षेत्र वरपर केही स्थानमा तारजाली राखे पनि अधिकांश स्थानमा तारवार नगरिँदा स्थानीयवासी, व्यक्ति तथा पशुचौपायलाई खतरा भएको छ ।
मस्र्याङ्दी नदी र ङादी खोलाको गहिरो तलाउ वरपर कुनै छेकबार नहुँदा स्थानीयवासी समुदाय नै जोखिममा बस्नु परेको स्थानीयवासी सुकमाया श्रेष्ठले बताउनुभयो ।
आयोजनाले सुरक्षित तारजाली लगाउने प्रतिबद्धता जनाए पनि हालसम्म काम नगरेको स्थानीयवासीको गुनासो छ । बाँधक्षेत्रमै भएको मोटरेबल पुल पनि जोखिमपूर्ण रहेको स्थानीयवासीको गुनासो छ । ङादीखोलामा निर्माण गरिएको मोटरेबल पुलमुनि रहेको जाली तथा पर्खाल भत्किएकाले जोखिमपूर्ण भएको हो ।
जोखिमपूर्ण पुलबाट त्रसित हुँदै व्यक्ति तथा सवारी आवागमन हुने गरेको छ । साँझको समयमा बाटो हिँड्नेलाई पनि समस्या भएको स्थानीयवासी प्यारीमाया तामाङले बताउनुभयो ।
गत वर्ष निर्माण सम्पन्न ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले विद्युत् उत्पादन तथा बिक्री–वितरण शुरु गरिसके पनि जोखिमपूर्ण समुदायमा गर्नुपर्ने काम नगरेको स्थानीयवासीको आरोप छ । आयोजनाले स्थानीयवासीबीच गरेका प्रतिबद्धता पनि पूरा नगरेको स्थानीयवासीको गुनासो छ ।