काठमाडौँ, २९ पुस ।
बजेट अभावका कारण देशभर निर्माणाधीन ९ सय भन्दा बढी पुल समयमै सम्पन्न गर्न समस्या भएको सडक विभागले जनाएको छ ।
चालु आवमा सडक विभाग मातहतका पुल महाशाखाअन्तर्गत रु तीन अर्ब मात्रै बजेट विनियोजन गरिएको जानकारी दिँदै विभागका उपमहानिर्देशक एवं पुल माहाशाखाका प्रमुख अर्जुनजंग थापाले निर्माण गर्नुपर्ने पुलको संख्या भने ९ सय बढी रहेको बताउनु भयो ।
महाशाखाले रु ६२ अर्ब बराबरको ठेक्का लगाएको छ । तर बजेट भने असाध्यै कम भएका कारण निर्माणाधीन पुल तोकिएको समयमा सम्पन्न गर्न समस्या हुने भएको छ ।
ठेक्का पूरा भई निर्माण भइरहेका ९११ वटा पुलको लागत मात्रै रु ६२ अर्ब भन्दा बढी रहेका छन् । राजमार्गमा २७६ वटा पुल निर्माण भइरहेको छ । सो को लागत रु १५ अर्ब छ । महाशाखाका अनुसार कूल रु ७७ अर्ब बढीको पुल निर्माणमा छन् ।
प्रमुख थापाका अनुसार रु ६२ अर्बको पुल निर्माण गर्न वर्षेनी रु १६ अर्ब रकम आवश्यक हुन्छ । निर्माण व्यवसायी दैनिकजसो महाशाखामा रकम भुक्तानीका लागि आउने गरेको भए पनि बजेट अभावमा दिन नसकिएको उहाँको भनाइ छ ।
महाशाखाले आगामी दिनमा निर्माण हुने पुल चार लेनको बनाउने तयारी गरेको छ । भारत जोड्ने महाकाली नदी माथिको पुल चार लेनको बनाउन ठेक्का सम्झौता भइसकेको छ ।
बढ्दो शहरीकरण, सवारीसाधनको वृद्धि तथा जनजीवन सहज बनाउनका लागि पुल चार लेनको बनाउन थालिएको सिनियर डिभिजनल इञ्जिनियर नरेशमान शाक्यले जानकारी दिनुभयो ।
महाशाखाले जनकपुर–जटहीमा छ लेनका सडकमा तीन वटा, भैरहवा– बुटवल सडकखण्डमा चार लेनका दुई वटा, नेपालगञ्ज– सुर्खेत सडकखण्डमा चार लेनका पाँच वटा, वीरगञ्ज–पथलैया छ लेनको एउटा, पथलैया–दुधौरा चार लेनको एउटा पुल निर्माण शुरु भएको छ । ती सबै पुल सरकारको पाँच वर्षे रणनीतिक योजनाअन्तर्गत रहेका छन् ।