काठमाडौ १५ पौष ।
राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले वास्तविक पीडितबारे अनुगमन सुरु गरेसँगै भूकम्प पिडितले पहिलो किस्ता बापत लिएको अनुदान रकम फिर्ता दिन थालेका छन् ।
निजी आवास निर्माणका लागि अनुदान पाउने सूचीमा नाम समावेश भएका तर घर बनाउन आवश्यक नठान्ने भूकम्प पीडितले पहिलो किस्ता बापत लिएको ५० हजार रुपैयाँ फिर्ता गर्न थालेको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणले वास्तविक पीडितबारे अनुगमन सुरु गरेसँगै रकम फिर्ता गर्नेहरु बढेको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले जानकारी दिनुभयो । प्राधिकरणका अनुसार मकवानपुरका २ जनाले पहिलो किस्ता बापत लिएको रकम सरकारी खातामै फिर्ता गरेका छन् ।
प्राधिकरणले बस्न योग्य घर भएका वा अन्यत्र घर भएरपनि लाभग्राहीको सूचीमा नाम पारेको भए सम्बन्धित जिल्ला समन्वय समितिको सचिवालयमा सम्पर्क गरी रकम फिर्ता गरेर आफ्नो नाम लाभग्राही सूचीबाट हटाउन पटक पटक आग्रह गर्दै आएको छ ।