१४ पुस, काठमाडौं ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको लागत करिब १५ अर्बले बढ्ने देखिएको छ । डलरको मूल्यवृद्धि, आयोजनाको डिजाइनमा भएको हेरफेर र निर्माणको समय लम्बिएका कारण लागत बढ्ने भएको हो
०६६ सालमा गरिएको अनुमान ३५ अर्ब २९ करोडबाट बढेर ५० अर्बको हाराहारीमा पुग्ने देखिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षसम्ममै ३६ अर्ब खर्च भइसकेको छ । ०६६ मा गरिएको लागतको आकलनभन्दा बढी त खर्च नै भइसकेको भएपनि अझै आयोजनाको १० प्रतिशतभन्दा बढी काम भने बाँकी छ ।
लागत पुनर्मूल्यांकन गर्न गठित समितिले लगभग रिपोर्ट तयार पारिसकेको तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) विज्ञान श्रेष्ठले जानकारी दिनुभयो ।
२०६५ सालको आकलनअनुसार एक मेगावाटका सात करोड ७३ लाख रुपैयाँ लाग्ने देखिएको थियो । अब भने प्रतिमेगावाट १० अर्ब लाग्ने देखिएको छ ।
पुस ०७५ मा उत्पादन थाल्ने योजना बनाएको स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजनामा कर्मचारी सञ्चयकोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले दुई अर्ब र राष्ट्रिय बीमा संस्थानले दुई अर्ब लगानी गरेका छन् । मन्त्रिपरिषद्ले ११ अर्ब आठ करोडसम्म लगानी गर्ने निर्णय गरेको छ ।