भीमदत्तनगर, १२ पुस ।
द टिम्बर कर्पोरेशन अफ नेपाल, (टिसिएन) भीमदत्तनगर शाखाले भूकम्पपीडितलाई उपलब्ध गराउन भूकम्प पुनःनिर्माण प्राधिकरणलाई २० हजार क्युफिट चिरान काठ उपलब्ध गराएको छ ।
भूकम्पपीडितलाई घर बनाउन काठ उपलब्ध गराउने दुई वर्षअघिको सरकारी योजनाअनुसार गत चैत महिनामा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र हावाहुरीले ढालेका रुख संकलन गरी पीडितलाई दिने निर्णय गरिएको थियो ।
सोहीअनुसार हालसम्म प्राधिकरणका लागि २० हजार क्युफिट काठ पठाइएको द टिम्बर कर्पोरेशन अफ नेपाल, (टिसिएन) भीमदत्तनगर शाखाका सहायक प्रबन्धक खेमराज जोशीले जानकारी दिनुभयो ।
उहाँका अनुसार शुक्लाफाँटा निकुञ्जबाट भूकम्पपीडितका लागि भन्दै एक लाख ४७ हजार क्युफिट काठ संकलन गरिएकामा २० हजार प्राधिकरणमा पठाइसकिएको छ भने ७० हजार क्युफिट काठ मिलमा चिरान हुँदैछ ।
टिसिएनका सहायक प्रबन्धक जोशीका अनुसार अबको छ महिनाभित्र सम्पूर्ण काठ प्राधिकरण काठमाण्डौमा आईपुग्नेछ ।
संकलन गरिएका काठमध्ये १० प्रतिशत शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती व्यवस्थापन समिति र २० प्रतिशत टिसिएनले आन्तरिक खपत गर्ने सहायक प्रबन्धक जोशीले बताउनुभयो ।
टिसिएनका अनुसार अझै करिब ५५ हजार गोलिया चिरान गर्न बाँकी छ ।