एजेन्सी १० पौष ।
लेटिन अमेरिकी मुलुक ग्वाटेमालाले इजरायलमा रहेको आफ्नो दुतावास जेरुसेलममा सार्ने तयारी गरेको छ ।
जेरुसेलमलाई इजरेलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको निर्णय संयुक्त राष्ट्रसंघमा असफल भएपछि जारी तनावका बीच ग्वाटेमालाले पछिल्लो निर्णय गरेको हो ।
ग्वाटेमालाका राष्ट्रपति जिम्मि मोरालेसले इजरेली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँगको छलफलपछि इजरेलस्थित दुतावास जेरुसेलममा सार्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
जेरुसेलमलाई इजरेलको राजधानीको मान्यता दिने अमेरिकी निर्णय उल्ट्याउन संयुक्त राष्ट्रसंघले गरेको प्रस्तावको विपक्षमा मतदान गर्ने ७ राष्ट्रमध्ये ग्वाटेमाला पनि एक हो ।
ग्वाटेमालाका राष्ट्रपति मोरालेसले आफू लामो समयदेखि इजरेलको मित्रराष्ट्र भएकाले उसलाई साथ दिएको बताउनुभएको छ । अमेरिकाले पनि तेल अभिभबाट दुतावास जेरुसेलम सार्ने तयारी शुरु गरेको जनाएको छ ।
इजरायल प्यालेस्टाईनबीचको द्वन्द्वसँग जोडिएको जेरुसेलमलाई इजरेलले आफ्नो भू–भाग भएको दाबी गरेपनि अन्तर्रा्ष्ट्रिय समुदायले मान्यता दिएको छैन । जोर्डनको अधिनमा रहेको पूर्वी जेरुसेलमलाई मध्यपूर्व युद्धका क्रममा सन् १९६७ मा इजरेलले नियन्त्रणमा लिएको थियो ।
सो क्षेत्रमाथि प्यालेस्टाईनले समेत दाबी गर्दै आएको छ । प्यालेस्टाईनले जेरुसेलमको अस्तित्वलाई लिएर घनिभूत छलफल गरिनुपर्ने बताउदै आएको छ ।