एजेन्सी ,पुस १ ।
निर्विरोध पार्टी अध्यक्षमा चुनिनुभएका राहुल गान्धीले आजदेखि कांग्रेस आइको नेतृत्व औपचारिक रुपमा सम्हाल्नुभएको छ ।
राहुलले आफ्नी आमा सोनिया गान्धीलाई विस्थापित गर्दै पार्टी अध्यक्षको जिम्मेवारी आजदेखि औपचारिक रुपमा सम्हाल्नुभएको हो ।
अध्यक्ष पदको जिम्मेवारी ग्रहण गरे लगतै राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय जनता पार्टीको कडा आलोचना गर्नुभएको छ ।
अंग्रेजी र हिन्दी दुबैमा भाषामा सम्बोधन गर्दै राहुलले बिजेपीले देशभर हिंसा फैलाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो ‘एकपटक आगो लाग्यो भने निभाउन मुश्किल हुन्छ, यो कुरा हामीले बिजेपीलाई बुझाउने प्रयास गरिरहेका छौँ । किनकी उनीहरु अहिले देशभर हिंसा फैलाउने प्रयासमा छन् ।’
देशमा लाग्दै गएको हिंसाको आगो निभाउने एक मात्र शक्ति कांग्रेस रहेको र कांग्रेसका नेता तथा कार्यकर्ता भाजपाले फैलाएको हिंसाको आगो निभाउने प्रयासमा रहेको उहाँले बताउनुभयो ।
भाजपाले राजनीतिको प्रयोग नागरिकलाई बलियो बनाउनका लागि नभइ दबाउनका लागि गरिरहेको उहाँको आरोप छ । यसले गर्दा नागरिक राजनीतिबाट निराश रहेको राहुल गान्धीले बताउनुभयो ।
यस्तै कांग्रेस अध्यक्ष राहुलले प्रधानमन्त्री नरेन्द्र मोदीले भारतलाई पछि धकेलेको आरोप लगाउनुभयो । कांग्रेसले भारतलाई २१ औं शताब्दीसँग मिल्ने देश बनाएपनि प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई पछि धकेल्दै मध्ययुग तर्फ लैजाँदै गरेको उहाँको आरोप छ ।
मानिसलाई अरु भन्दा फरक भएकै आधारमा बर्बर रुपमा हत्या गर्ने युग तर्फ भारतलाई लैजाँदै गरेको पनि उहाँले आरोप लगाउनु भयो ।
राहुलले भिन्न भएकै आधारमा हुने गरेको हिंसाका कारण भारतको इज्जत अन्तर्रा्ष्ट्रिय स्तरमा नराम्रो बन्दै गएको बताउनु भयो । प्रधानमन्त्री मोदी अहिले पूरै देशको आवाज आफू मात्रै बनेर बसेको र सबै योग्यता तथा विशेषज्ञतालाई किनारा लगाएको राहुलको आरोप छ । मोदीमाथि राहुलको यो अहिलेसम्मकै ठूलो आक्रमकम आरोप हो ।