घलेम्दीखोलाको विद्युत् छ महिनामा परीक्षण उत्पादन हुने

घलेम्दीखोलाको विद्युत् छ महिनामा परीक्षण उत्पादन हुने

  • शनिबार, पुस १, २०७४
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

 

म्याग्दी, १ पुस ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन अवस्थामा रहेको पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजनाको पावरहाउसको शिलान्यास गरिएको छ । आयोजनाका अन्य संरचनाको निर्माणकार्य अन्तिम चरणमा पुगेको अवस्थामा आयोजनाका सञ्चालक एवं प्रबन्धक÷निर्देशक प्रमोद श्रेष्ठले शुक्रबार पावरहाउसको शिलान्यास गर्नुभएको हो ।

नीलगिरि खोलाको किनारमा अवस्थित पावरहाउस आगामी चार महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नीलगिरि खोलाको नजिक रहेको पावर हाउसमा खोलाले कटान गर्नसक्ने सम्भावनालाई मध्यनजर गरी रिटेनिङ वालसहितको संरचना बनाइएको छ ।

निजी क्षेत्रको पहलमा जिल्लामै पहिलोपटक विसं २०७१ बाट निर्माण थालिएको आयोजनाको मुख्य ड्याम, बालुवा थिग्र्याउन पोखरी बनाउने, बाँधदेखि पोखरीसम्म नहर निर्माणको काम सकिएको प्रबन्धक÷निर्देशक श्रेष्ठले बताउनुभयो ।

सुरूङ मार्गदेखि पावर हाउससम्मको पेनस्टक पाइपसमेत ढुवानीको तयारी भइरहेको छ । पेनस्टक पाइपका लागि १० टन क्षमताको रोपवेका निर्माण कार्य शुरु भएको छ । आयोजनाको ड्याम, इन्टेकमा आवश्यकपर्ने निर्माण सामग्रीका लागि खोला नजिक मिनी क्रसर मेसिनको जडानले समेत निर्माण कार्यलाई सहज भएको आयोजनाले जनाएको छ । घलेम्दी खोलाको धार परिवर्तन गरी दुवैतर्फबाट निर्माण भइरहेको संरचनाको दैनिक सञ्चालक समितिका सदस्यबाट निगरानी, मजदुर र ठेकेदारलाई आवश्यक पर्ने सामग्री सुरूङ मार्गबाट ट्र्याक्टरमा ढुवानी गर्ने गरिएको छ । आयोजनाको मुख्य काम सुरूङ मार्गको फिनिसिङको कामलाई समेत तीव्रता दिइएको कम्पनी सचिव लक्ष्मीनिधि रिजाल ‘विमल’ ले बताउनुभयो ।

पावर हाउसदेखि ड्यामसम्म करिब १५० जना मजदुर कार्यरत छन् । दैनिक गरिने कामको अघिल्लो दिनमै योजना बनाइने भएकाले पनि निर्माण कार्य सहज भएको रिजालको भनाइ छ । रोपवेमार्फत करिब २०० मिटरमाथि रहेको सुरुङको आउटलेटसम्म सामान ओसार्ने गरिएको बताउनुभयो ।

आयोजनाका संस्थापक सेयरलेसमेत निर्माण कार्यको प्रगतिले आफ्नो लगानी सुरक्षित भएको प्रतिक्रिया दिएका छन् । अन्नपूर्ण हिमालको फेदमा अवस्थित आयोजनाको ड्याम आसपासको संरचनामा भइरहेको कामको म्याग्दीका साथै देशभर रहेका लगानीकर्तासमेत पुग्ने गरेका छन् । आगामी छ महिनाभित्र परीक्षण उत्पादन गर्ने तयारी भइरहेको छ ।

सुरुङ हुँदै ल्याइएको घलेम्दीखोलाको पानीलाई १५० मिटरको उचाइबाट पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिन्छ । रु ३८ करोड ५० लाख संस्थापक सेयर रहेको आयोजनामा विभिन्न वित्तिय संस्थाले लगानी गरेका छन् । घलेम्दीखोलाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोडिने भएको छ । सम्झौताअनुसार आयोजनाबाट उत्पादन हुने विद्युत्लाई विद्युत् प्राधिकरणले खरिद गर्नेछ । वार्षिक रु साढे १३ करोड बराबरको विद्युत् खरिद गर्ने प्राधिकरणले वर्षायाममा चार रुपैयाँ ८० पैसा र हिउँदमा आठ रुपैयाँ ४० पैसामा प्रतियुनिट विद्युत् खरिद गर्ने जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी