सिन्हवा ,१९ मंसिर।
संयुक्त हवाई सैन्य अभ्यासको उत्तर कोरियाले कडा शब्दमा विरोध गरेको छ ।
उत्तर कोरियाले सैन्य अभ्यासको कडा शब्दमा विरोधगर्दै आफ्ना विरुद्ध लक्षित रहेको सैन्य अभ्यासको आफूहरुले जवाफ दिने चेतावनी दिएको उत्तर कोरियाको सरकारी सञ्चार माध्यमले जनाएका छन ।
उत्तर कोरियाले आफ्नाविरुद्ध उत्तेजना फैलाउने र उत्तर कोरियामाथि आक्रमणका लागि बल जाँच्ने भित्री ध्येयका साथ यो सैन्य अभ्यास गरेको बताएको छ ।
सैन्य अभ्यास कोरियाली प्रायद्वीप क्षेत्रमा देखिएको अस्थिरताको नियन्त्रण गरी दक्षिण कोरिया र अमेरिकाको सम्बन्ध विस्तारका लागि गरिएको बताइएको भएपनि यसलाई यी दुई देशले उत्तरका विरुद्धमा उसको आणविक परीक्षणको जवाफ दिएको रुपमा धेरैले हेरेका छन् ।
उत्तर कोरियाले हालैका दिनमा जारी राखेको आणविक परीक्षणका कारण उत्तर कोरिया र दक्षिणबीच व्यापक मात्रामा विवाद जारी रहेको बेला हिजबाट सैनिक अभ्यास सुरु भएको हो ।
केही दिनमात्र अघि उत्तर कोरियाले अहिलेसम्मकै सबैभन्दा शक्तिशाली क्षेप्यास्त्र हानेको हुनाले उक्त क्षेप्यास्त्रका विरुद्धमा दक्षिण कोरिया र अमेरिकाले यो अभ्यास सुरु गरेका बताइएको छ ।
केही रक्षा अधिकारीहरुले दिएको अनौपचारिक जानकारीअनुसार सैन्य अभ्यासमा शक्तिशाली युद्धक विमानहरुको पनि प्रयोग भएको छ । ती विमानहरु दक्षिण कोरियाको आकाशमा र उत्तर कोरियाको सीमा क्षेत्रमा पनि उडाइएको जनाइएको छ ।
उत्तर कोरियाले गतवर्षदेखि सुरु गरेको यो पछिल्लो आणविक परीक्षणको शृंखला अझै रोकिएको छैन । यस्तो शृंखलाका कारण पछिल्ला दिनहरुमा संयुक्त राष्ट्रसंघ, अमेरिका र दक्षिण कोरियालाई पनि झस्काएको बताइएको छ ।
तर उत्तरले भने सैन्य अभ्यासले अन्तर्रा्ष्ट्रिय कानुनको उल्लंघन गरेको भन्दै अभ्यास रोक्न भनेको छ । उत्तरले यसलाई सार्वभौमसत्तामाथिको हमलाको रुपमा लिएको जनाएको छ ।