एजेन्सी , मंसिर १७ ।
मुस्लिम समुदायमा प्रचलित ३ पटक तलाख भनी सम्बन्ध विच्छेद गर्ने पुरुषलाई ३ बर्षसम्मको जेल सजाय हुनसक्ने बताइएको छ ।
मुस्लिम महिला अधिकारकर्मीहरुले पेश गरेको मुस्लिम महिला अधिकार संरक्षण सम्बन्धी दस्तावेजमा मौखिक सम्बन्ध विच्छेद गर्ने पुरुषलाई जेल सजायको प्रस्ताव गरिएको छ ।
यसलाई कानूनी मान्यता दिनका लागि क्षेत्रीय सरकारसमक्ष पठाईएको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।
सो प्रस्ताव पारित भएमा मौखिक तलाखबाट पिडीत महिलाहरुलाई कानूनी सहायता प्राप्त हुनसक्ने बताइएको छ ।
भारतीय मुस्लिम समुदायमा प्रचलित यो प्रथामा श्रीमानले ३ पटक तलाख भनेपछि अथवा लेखेपछि सम्बन्ध विच्छेद भएको मानिदै आएको छ ।
भारतीय सर्वोच्च अदालतले गत अगस्टमा यो प्रथालाई गैरकानूनी घोषणा गरेको थियो । त्यसरी सम्बन्ध विच्छेद भएका महिलाहरुलाई क्षतिपूर्तिको व्यवस्था हुनुपर्ने कानूनमा उल्लेख छ ।