एजेन्सी १० मंसिर ।
कानुनमन्त्रीले धर्मको आलोचना गरेको भन्दै पाकिस्तानमा भएको बिरोध प्रदर्शनका क्रममा हिंसा भड्किएपछि सेना परिचालन गरिएको छ ।
कानुन मन्त्रीको राजिनामा माग गर्दै सर्वसाधारणले बिरोध प्रदर्शन गर्नुका साथै तोडफोड तथा आगजनीमा उत्रिएपछि स्थिति नियन्त्रणमा लिन राजधानी इस्लामावाद लगायत स्थानमा सेना परिचालन गरिएको सरकारले जनाएको छ ।
प्रदर्शनका क्रममा हिंसा भड्कदा २ सय बढी घाइते भएका छन् । सो क्षेत्रमा ८ हजार ५ सय प्रहरी तथा अर्धसैनिकहरु समेत परिचालन गरिएको छ । कानूनमन्त्री जाहिद हमिदले धर्मको निन्दा गरेको भन्दै उनलाई पदबाट हटाउन माग गर्दै सर्वसाधारणले केही हप्तादेखि फैजावादस्थित सडक अवरुद्ध गरेका थिए ।
चुनावी सभाका क्रममा मन्त्री हमिदले धर्म गुरु पैगम्बर मोहम्मदका बारेमा गलत उदाहरण दिएको आरोप लगाएका छन् । प्रदर्शनकारीले पञ्जाव प्रान्तस्थित मन्त्री हमिदको घरमा तोडफोड समेत गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सोको विरोधमा लाहौर तथा कराँचीका दक्षिणी भागका केही स्थानमा समेत विरोध भएको बीबीसीले उल्लेख गरेको छ ।