काठमाडौँ ३० कात्तिक ।
भोलीदेखि १५ औँ हस्तकला मेला तथा १३ औँ प्रतियोगितात्मक हस्तकला प्रदर्शनी काठमाण्डौमा सुरु हुँदै छ ।
भोली देखि मंसिर ५ गते सम्म मेला सन्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले रर्ने आयोजक नेपाल हस्तकला महासंघले जनाएको छ ।
महासंघका अध्यक्ष धर्मराज शाक्यले नेपालमा उत्पादित हस्तकलाका सामग्रीलाई अन्तरराष्ट्रियस्तरसम्म चिनाउन हरेक वर्षझैँ यो वर्ष पनि हस्तकला मेला आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
हाल नेपाली हस्तकलाको निर्यात संयुक्त राज्य अमेरिका, युरोपेली मुलुकहरु फ्रान्स, बेलायत, नेदरल्याण्ड, जापान, चीन, भारतलगायत ८० वटा मुलुकमा ५० भन्दा बढी थरीका हस्तकला निर्यात हुँदै आएको छ ।
स्वदेश तथा विदेशमा नेपाली हस्तकला झण्डै १० अर्ब बराबरको कारोबार हुने र प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा ११ लाख व्यक्तिले रोजगारी पाएको जनाईएको छ ।
मेलामा काष्ठकला, धातुकला, सुनचाँदी, फेल्ट, उनी, सुती, ढाका, जडीबुटी, अर्थोडक्स चिया, पश्मिना, हाते कागज, प्राकृतिक रेशा, बाँसजन्य सामानका नौ प्याभिलियनसहित २०० कक्ष रहनेछन् । तीमध्ये बंगलादेश, भुटान, चीनलगायतका ३० कक्ष रहने आयोजकले जनाएका छन् ।
मेलामा १३ औँ हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, दोस्रोलाई रु ३० हजार र तेस्रोलाई रु २० हजार पुरस्कार दिने आयोजकले जनाएका छन् ।
त्यस्तै उत्कृष्ट स्टल तथा प्याभिलियन प्रतियोगिता, परम्परागत तथा नवोदित हस्तकलाको जीवन्त सीप प्रदर्शन, मेलामा प्रर्द्शित हुने हस्तकला वस्तुमध्येबाट उत्कृष्ट वस्तु प्रतियोगिता, अमूर्त सांस्कृतिक सम्पदा प्रदर्शन र ‘बि टु बि’ (व्यापारस्तरीय) बैठक हुने पनि अध्यक्ष शाक्यले बताउनुभयो ।