काठमाडौँ, कात्तिक २८ ।
नेपाल र संयुक्त अरब इमिरेट्स युएई बीच द्विपक्षीय श्रम सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ ।
श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता भुवनप्रसाद आचार्यले केही प्राविधिक विषयमा दुई देशबीच सहमति भए केही दिनमै सम्झौताको टुंगो लाग्ने जानकारी दिनुभयो ।
आफुहरुले पठायको श्रम सम्झौताको खाकामा युएईले आफ्नो धारणासहित परिमार्जनको खाका पठाएको र आफुले त्यसको अनुसन्धान गरीरहेको वताउनु भयो ।
युएईले पठाएको खाकाबारे श्रम मन्त्रालय, परराष्ट्र मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले अध्ययन गरिरहेको छ । गत महिना जोर्डनसँग भएको श्रम सम्झौताअनुरुपकै खाकामा युएईसँग पनि सम्झौताको तयारी भइरहेको छ ।
सम्झौतामा कामदारको हक, अधिकार, कार्यक्षेत्रको अवस्था, कार्यअवधि, बीमा, न्यूनतम तलब, आपूर्ति प्रक्रियालगायतका विषय समावेश हुनेछ । युएईसँग हुने सम्झौतामा साधारण कामदारका साथै घरेलु कामदारको विषयमा समेत छुट्टै सम्झौता गर्ने तयारी भइरहेकोे प्रवक्ता आचार्यले जानकारी दिनुभयो ।
सम्झौतामा युएईमा रोजगारीका लागि जाने नेपाली कामदारलाई निःशुल्क टिकट र प्रवेशाज्ञाको व्यवस्था उल्लेख गरिने छ । सुरक्षित र मर्या्दित श्रम तथा कामदारको हकअधिकारसम्बन्धी अन्तरराष्ट्रिय मापदण्डलाई पालना गर्न सम्झौताले सहयोग पुग्नेछ ।