एजेन्सी, २१ कार्तिक ।
राजपरिवारकै सदस्यहरुलाई भ्रष्टाचार आरोपमा पक्राउ गरेर सनसनीपूर्ण सन्देश दिएको साउदी अरेबियाले यो सुरुवात मात्र भएको टिप्पणी गरेको छ ।
राजपरिवारका सदस्य, बहालवाला मन्त्री र पूर्व मन्त्रीलाई पक्रनु भ्रष्टाचार विरुद्धको अभियानको सुरुवातमात्रै भएको साउदी महान्यायाधिवक्ताले प्रतिक्रिया दिनु भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
महान्यायाधिवक्ता शेख साउद अल मोजेबले विज्ञप्ति जारी गर्दै यो अभियान देशबाट भ्रष्टाचार अन्त्य गर्ने दिशामा सुरुवात मात्र भएको उल्लेख गर्नुभएको छ । अब भ्रष्टाचारको मूल कारण अन्त्य गर्ने दिशामा ध्यान केन्द्रित गरिने उहाँले बताउनु भयो ।
पक्राउ परेकाहरुको सुनुवाई पारदर्शी रुपमा गरिने पनि उहाँले बताउनु भयो । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा गठित भ्रष्टाचारविरुद्धको नयाँ कमिटीले ११ जना राजकुमार, चारजना बहालवाला मन्त्री र दर्जनौं पूर्व मन्त्रीलाई पक्रेको गरेको थियो ।
पक्राउ पर्नेमा ट्वीटर र एप्पलमा लगानी रहेका राजकुमार अलवालिद बिन तलाल पनि रहेका छन् । यसैबीच, राजा सलमानले राष्ट्रिय प्रहरी तथा जल सेनाका प्रमुख पनि परिवर्तन गर्नुभएको छ ।
यो अभियानलाई युवराज सलमानको अधिकार र शक्ति बढाउने अभियानसँग जोडिएको छ । साउदी राजपरिवारमा राजनीतिक शक्ति हत्याउने दाउपेचसँग यो अभियान जोडिएको आशंका पनि गरिएको छ ।