बेल्जियम, कात्तिक २० ।
बेल्जियम प्रहरीसमक्ष आत्मसमर्पण गरेका क्याटलोनियाका पूर्व नेता कार्लस पुज्डेमोन र चारजना पूर्वमन्त्रीहरु सशर्त रिहा भएका छन् ।
सरकारको अनुमति विना देश नछाड्न र बसोबारबारे सम्पुर्ण जानकारी उपलव्ध गराउन वेल्जियमको अदालतले उनीहरुलई निर्देशन दिएको छ । अदालतको निर्देशन लगत्तै पुज्डेमन सहित ४ मन्त्रीहरु सर्त सहित रिहा भएको अन्तराष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
स्पेन सरकारले ती नेताहरुलाई विद्रोह, देशद्रोह र राज्यकोषको दुरुपयोगसम्बन्धी मुद्दा चलाउन पक्राउ आदेश जारी गरेको थियो ।
उक्त घटनापछि क्याटलोनियाका बर्खास्त राष्ट्रपति कारलस पुज्डमोन बेल्जियमको राजधानी ब्रसल्स पुगेका थिए । एकतर्फी रूपमा क्याटोलनियाको स्वतन्त्रताको घोषणा गरेपछि स्पेन सरकारबाट बर्खास्त भएका नेता पुज्डेमोनले हिजो बेल्जियमको प्रहरी समक्ष आत्मसमर्पण गरेका थिए ।
केहि समयाअघि क्याटलोनियाको संसद्ले उक्त क्षेत्र स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेपछि स्पेनी केन्द्र सरकारले त्यहाँ प्रत्यक्ष शासन लागू गरेको थियो । स्पेनी प्रधानमन्त्री मारिआनो राखोयले क्षेत्रीय संसद् र सरकार विघटन गर्दै निर्धा्रित समयअगावै चुनावको घोषणा गरेका थिए ।
प्रधानमन्त्री राखोयको घोषणाअनुसार आउँदो डिसेम्बर २१ मा क्याटलोनियामा निर्वाचन हुनेछ ।
सशर्त रिहा भएका क्याटलन नेताहरु आगामी १५ दिनभित्र बेल्जियमको अदालतमा उपस्थित हुने बताइएको छ । तर, बेल्जियमसँग उनीहरुलाई स्पेन फर्काउन ६० दिनको समयावधि भएपनि ती नेताहरुले कानूनी प्रश्न नउठाएमा त्यसअघि नै फर्काउन सकिनेछ ।