१३ कात्तिक, काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई आपूर्ति मन्त्रालय तानिएको छ ।
आज आपूर्तिमन्त्री जयन्त चन्दले खड्कालाई मन्त्रालय तान्ने निर्णय गर्नुभएको हो ।
खड्कालाई मन्त्रालयमा हाजिर गराउन औपचारिक पत्रसमेत पठाइसकिएको मन्त्रालयका प्रवक्ता मुकुन्द पौडेलले जानकारी दिनुभयो ।
इन्धन भण्डारणका लागि जग्गा खरिद गर्दा अनियमितता गरेको आरोप लागेपछि उहाँलाई मन्त्रालय तानिएको हो । खड्का पुनः निगम फर्कंदा थप क्षति हुन सक्ने भन्दै यसअघि नै मन्त्रालय तान्न निर्वाचन आयोगसँग अनुमति मागिएको थियो ।
गत ३१ असोजमा निर्वाचन आयोगले पनि उनलाई मन्त्रालय तान्न अनुमति दिएको थियो । आयोगको अनुमतिसँगै आपूर्ति सचिव कृष्णप्रसाद देवकोटाले उहाँलाई मन्त्रालयमा हाजिर गराउने निर्णय गर्नुभएको थियो ।
जग्गा खरिदमा अनियमितता गरेको बताउँदै गत २ कात्तिकमा सरकारले खड्कालाई निगम कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । तर, सर्वोच्च अदालतले गत २२ असोजमा बर्खास्तीको निर्णय कार्यान्वयन नगर्न अन्तिरिम आदेश दिएपछि उहाँ निगम फर्कनुभएको हो ।
निगमको जग्गा खरिद प्रकरणबारे हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।