बेइजिङ, ३१ असोज।
चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय सम्मेलन (काँग्रेस) आजबाट सुरु हुँदै छ । उक्त सम्मेलन आज बिहान ९ बजे बेइजिङको ग्रेट हल अफ दि पिपुलमा सुरु हुने तय भएको जनाइएको छ ।
कडा सुरक्षाका बीच राजधानी बेइजिङस्थित ग्रेट हल अफ द पिपुलमा शुरु हुने कंग्रेसमा २ हजार ३ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदैछन् ।
कंग्रेसले आगामी पाँच वर्षका लागि चिनियाँ कम्युनिस्ट पार्टीको नयाँ नेतृत्व चयन र भावी रणनीति तय गर्नेछ । बैठकले २ सय केन्द्रीय समिति र २४ सदस्यीय पोलिटब्यूरोसमेत चयन गर्नेछ ।
चयन भएको पोलिटब्यूरोले ७ सदस्यीय स्ट्यान्डिङ कमिटी बनाउने छ । एक सातासम्म चल्ने कंग्रेस बैठकले राष्ट्रपति सी चिनफिङलाई दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गर्ने सम्भावना रहेको बताइएको छ ।
चिनियाँ समाचार समिति, सिन्ह्वाका अनुसार सो सम्मेलनको सबै तयारीहरु पूरा भएको छ । ग्रेट हल अफ दि पिपुल विशेष रुपमा सिंगारेर अति आकर्षक बनाइएको छ ।
आज बिहान हुने उक्त सम्मेलनको उद्घाटन सत्रको चइना नेशनल रेडियो, चाइना सेन्ट्रल टेलिभिजन र चाइना रेडियो इन्टरनेशनलले प्रत्यक्ष प्रशारण गर्ने भएका छन् । उक्त प्रशारणहरु रेडियो टेलिभिजनहरुका अतिरिक्त विभिन्न वेभसाइट र अनलाइन पोर्टलहरुमा पनि हेर्न सकिने बताइएको छ ।
उक्त काँग्रेसमा सहभागिताका लागि चीनका विभिन्न भागबाट जम्मा २ हजार २८७ जना प्रतिनिधि छानिएका छन् । उनीहरुमध्ये अधिकांश बेइजिङ पुगिसकेका छन् ।
चिनियाँ कम्युनिष्ट पार्टीको नेशनल काँग्रेस हरेक पाँच बर्षमा बस्नेगर्छ । नेशनल काँग्रेस चिनियाँ कम्युनिष्ट पार्टीको सर्वाेच्च निकाय हो । यसलाई सो पार्टीको एक महत्वपूर्ण एवम् शक्तिशाली अंगका रुपमा लिने गरिन्छ ।
यसले आगामी पाँच बर्षका लागि कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व चयन गर्नुका साथै पार्टीले आगामी पाँच बर्षमा गर्नुपर्ने कामहरुको योजना पनि पारित गर्ने गर्दछ ।