एजेन्सी , साउन ३२ । चिनियाँ र भारतीय सैनिकबीच सीमा क्षेत्र डोकलाममा ढुंगा हानाहान भएको छ । दुबैतर्फका केही सैनिक घाइते भएको जनाइएको छ ।
यसअघिदेखि नै डोकलाम क्षेत्रमा दुबै देशका सेना आमनेसामने भएर बसेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न कुटनीतिक प्रयास असपल हुँदै गएको परिस्थितिमा लद्दाखमा मंगलबार दुबै मुलुकका सेना एकआपसमा भिडेका हुन् । यद्यपि दुबैतर्फबाट हतियार भने प्रयोग गरिएको थिएन ।
भारतले आफ्नो नियन्त्रणमा रहेको क्षेत्रमा चिनियाँ सेना प्रवेश गर्न खोजेपछि सामान्य झडप भएको जनाएको छ । तर चीनले सीमा क्षेत्रमा अनावश्यक हस्तक्षेप गर्न खोजेपछि भारतीय सेनालाई पछाडि हटाइएको दाबी गर्दै आएको छ ।
स्थिति नियन्त्रणमा लिन ब्यानर ड्रिल गरिएको र दुबै पक्षका सेना आआफ्नो स्थानमा फर्किएको भारतीय संचारमाध्यमले सैनिक स्रोतलाई उद्धृत गर्दै जनाएका छन् ।