एजेन्सी ,१७ साउन ।
अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोमाथि प्रतिबन्ध लगाएको छ । भेनेजुएलामा भएको विवादास्पद निर्वाचनपछि अमेरिकाले मदुरोलाई तानाशाहको अरोप लगाउदै प्रतिबन्ध लगाएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
प्रतिबन्धपछि अमेरिकामा रहेको मदुरोको सबै सम्पत्ति फ्रिज भएको छ भने कुनै पनि अमेरिकी व्यवसायिक संस्था तथा व्यक्तिले मदुरोसँग कारोबार गर्न पाउने छैनन् ।
भेनेजुएलामा आइतबार विरोध प्रदर्शनकाबिच संविधानसभा चुनाव भएको थियो । प्रदर्शनका क्रममा क्रममा कम्तिमा १० जनाको मृत्यु भएको बिबीसीले उल्लेख गरेको छ ।
राष्ट्रपति मदुरोले आइतबारको चुनाव परिवर्तनका लागि रहेको र प्रतिबन्धले आफूलाई कुनै फरक नपर्ने प्रतिक्रिया दिनुभएको छ । एक टेलिभिजन सम्बोधनका क्रममा मदुरोले अमेरिकाले आफूमाथि लगाएको प्रतिबन्धले डोनाल्ड ट्रम्पको घृणाको स्वरुप देखिएको बताउनुभयो ।
भेनेजुएलाको नयाँ संविधानसभालाई संविधान पुनर्लेखन गर्ने अधिकार छ । यस्तै विपक्षीको नियन्त्रणमा रहेको राष्ट्रिय सभालाई विघटनको घोषणा गर्ने अधिकार पनि संविधान सभासँग छ ।
आफूहरुले बहिष्कार गरेको संविधानसभा निर्वाचनमा ८८ प्रतिशत मतदाता सहभागी नभएको विपक्षी गठबन्धनको भनाई छ भने त्यहाँको निर्वाचन आयोगले ४१.५ प्रतिशत मत खसेको दाबी गरेको छ ।
विपक्षी गठबन्धनले आफूहरुले संविधान सभालाई नमान्ने बताएका छन् । भेनेजुएलामा राष्ट्रपति मदुरो र विपक्षीबिचको तनावका कारण राजनीतिक अस्थिरता बढ्दै गएको छ ।