झापा , १४ साउन ।
छुट्टै गोर्खाल्याण्ड माग गर्दै सुरु भएको आन्दोलन पुन ः चर्किएको छ । गोर्खाल्याण्डको माग गर्दै स्थानीयले आज बिहान दार्जि्लिङमा निकालेको खुकुरी जुलुसमा सुरक्षाकर्मीले गोली चलाउँदा अजय क्षेत्रीको मृत्यु भएको छ ।
सुरक्षकर्मीको गोली प्रहारबाट दर्जन बढी आन्दोलनकारी घाईते भएका छन् । प्रहरीको गोली लागी घाईते क्षेत्रीको सिलिगुडीस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गोर्खा जनमुक्ति मोर्चाका उपाध्यक्ष विशाल क्षेत्रीले बताउनुभयो ।
उनको टाउकोमा गोली लागेको थियो । योसँगै गोर्खाल्याण्ड आन्दोलनमा मृत्यु हुनेको संख्या १० पुगेको छ ।
स्थानीय तीनधारे, गाडीधुरालगायत क्षेत्रबाट निकालिएको खुकुरी जुलुसमाथि सुरक्षाकर्मीले दार्जि्लिङको प्रवेशद्वार सुकुनामा हस्तक्षेप गर्दा झडपमा भएको थियो ।
सुरक्षा घेरा तोडेर अघि बढ्ने क्रममा आन्दोलनकारीमाथि प्रहरीले गोली चलाएको हो । छुट्टै गोर्खाल्याण्ड राज्य घोषणाको माग गर्दै स्थानीयबासी लामो समयदेखि आन्दोलनरत छन् ।