ह्याम्बर्ग, २४ असार ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेलायतको औपचारिक भ्रमणमा जानुहुने भएको छ ।
ट्रम्पको भ्रमणका क्रममा बेलायतसँग ब्यापारिक सम्झौता पनि गर्नुहुने जनाइएको छ ।
जर्मनीमा रहनुभएका राष्ट्रपति ट्रम्प र जर्मन चान्सलर एञ्जिला मार्केलसँग आज भएको भेटका क्रममा राष्ट्रपति ट्रम्पले सो जानकारी दिनुभएको हो ।
सो द्विपक्षीय वार्ताका क्रममा उहाँले भन्नुभयो ‘म चाँडै नै बेलायतको भ्रमणमा आउने छु र सोहि दुई देशका बीचमा महत्वपूर्ण सम्झौतामा पनि हस्ताक्षर हुनेछ ।
उक्त सम्झौताले आगामी दिनमा अमेरिका र बेलायतका पक्षमा मात्र नभई यसबाट युरोपेली युनियनसँगको सम्बन्धमा पनि महत्वपूर्ण प्रभाव पार्ने उहाँले जानकारी दिनुभयो ।
तर सो भ्रमणको समय कहिले गर्ने भन्ने बारेमा भने उहाँले केही बताउनुभएन ।
यसअघि सो भ्रमणको बारेमा अन्यौल रहेको थियो । पछिल्ला केही महिना यता बेलायतमा सानातिना आतङ्ककारी हमलाहरु भइरहेका छन् ।
ती हमलामा लन्डनका मेयरको क्षमताको प्रश्न राष्ट्रपति ट्रम्पले उठाउनुभएको छ । जसका कारण लन्डनबासी मुस्लिम नागरिकमा उहाँका विरुद्धमा आक्रोस जागेको देखिएको बताइएको थियो ।
त्यसै कारणले राष्ट्रपति ट्रम्पले बेलायतको भ्रमण गर्न नचाहनुभएको प्रश्न गर्ने गरिएको थियो । तर उहाँको आजको यो अभिव्यक्तिपछि भने भ्रमण निश्चित प्राय भएको बताइएको छ ।