कायरो, १९ असार ।
इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक आह्वान गरेको छ ।
इजिप्टले राजधानी कायरोमा आगामि बुधवार साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग छलफलको आयोजना गरेको छ ।
बैठकमा कतार सङ्टको वर्तमान अवस्था र यसको विकासका अवस्थाका बारेमा छलफल हुने इजिप्टको विदेश मन्त्रालयद्वारा प्रकाशन विज्ञप्तिमा जनाइएको छ ।
आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि यी चार देशले कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त पनि राखेका छन् ।
कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् । उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार ४८ घन्टे चेतावनी पनि दिएका छन् ।
यसअघिका शर्त आगामी ४८ घन्टाभित्र पूरा गर्ने भएमा मात्र कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका उनीहरुले ती शर्त कतारले पूरा नगरेमा के गर्ने भन्ने बारेमा सो बैठकमा रणनीति बनाउने बुझिएको छ ।